पोखरा । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३ बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको सिफारिसलाई सरुभक्त केन्द्रको कार्यसमितिले अनुमोदन गर्दै रु। पचास हजार नगद राशीसहित सम्मान—पत्रद्धारा ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार’ अर्पण गरिने निर्णय गरेको हो ।

पुरस्कार छनौट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीका अनुसार प्रेन्सा रेग्मीले सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाउँदै आएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई पुरस्कारका लागि छनौट गरिएको हो । बालप्रतिभा कला, साहित्य, सङ्गीत र खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना, मानवीय सेवा र समाज रूपान्तरणप्रतिको प्रतिबद्धतामा पनि अभिव्यक्त हुन्छ भन्ने मान्यतालाई यस छनौटले आत्मसात् गरेको छ ।

वि।सं। २०६९ साल फागुन ६ गते म्याग्दी जिल्लाको मंगला गाउँपालिका–७ मा जन्मिएकी प्रेन्सा रेग्मी हाल पोखरा–११, फूलबारीमा बसोबास गर्दै आएकी छिन् । उनी हाल पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन् । सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय प्रेन्साले समुदायमा देखिएका विभिन्न सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि उल्लेखनीय प्रयास गर्दै आएकी छिन् ।

कोभिड–१९ महामारीका कठिन समयमा उनले मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र आवश्यकतामा परेका व्यक्तिहरूलाई कपडा उपलब्ध गराउनेजस्ता मानवीय कार्य गरेकी थिइन् । उनले लुगा बैंक स्थापना गरी विपन्न बालबालिका तथा परिवारलाई सहयोग पु¥याएकी थिइन् । विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने, विपन्न समुदायका आवश्यकतामा सहयोग गर्ने तथा सामाजिक जागरण फैलाउने कार्यमा समेत उनको सक्रियता रहेको छ ।

प्रेन्साले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै हिंसामुक्त विद्यालय तथा समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छिन् । बालबालिकालाई सकारात्मक सोच र सामाजिक जिम्मेवारीप्रति प्रेरित गर्ने अभियानमा उनको योगदान उल्लेखनीय छ । बालअधिकार, महिला अधिकार, शिक्षा, स्वास्थ्य, सुशासन तथा सामाजिक न्यायजस्ता विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यमा पनि उनी सक्रिय छिन । उनका सामाजिक अभियानले बालबालिकाले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेकी छन् ।

१६ वर्ष मुनिका बाल प्रतिभाहरुलाई प्रदान गरिने यो पुरस्कार २०५७ सालमै स्थापित पुरस्कार हो । बीचमा केही वर्ष रोकिएता पनि सरुभक्त केन्द्रको स्थापनासँगै अघिल्लोपटकबाट पुनः पुरस्कार वितरण गर्न थालिएको हो । यस अघि यस पुरस्कारबाट तेम्बाछिरी शेर्पा (पर्वतारोहण क्षेत्र), ज्योती थापा (नृत्य क्षेत्र), ऋतु लामा (गायन क्षेत्र), शिखा कटुवाल (कला क्षेत्र), करुणा गुरुङ्ग (कला क्षेत्र), सिपोरा गुरुङ्ग (खेलकूद क्षेत्र), कुशल के.सी. (विज्ञान तथा प्रविधि क्षेत्र), निमा छ्याङदी शेर्पा (पर्वतारोहण क्षेत्र) र सुप्रिम मल्ल ठकुरी (गायन क्षेत्र)बाट पुरस्कृत भइसकेका छन् । सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३ आगामी कार्तिक २१ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आयोजना हुने विशेष समारोहमा अर्पण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0