पोखरा । विपि स्मृति पुस्तकालय गण्डकी प्रदेशले नेपाली कांग्रेसमा निरन्तर योगदान पु¥याएका गण्डकी प्रदेशका ११ जना व्यक्तित्वलाई सम्मान गरेको छ। जननायक विपि कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले उनीहरूलाई सम्मान अर्पण गरेका हुन्।
सम्मानित हुनेमा कास्कीका कृष्णबहादुर कुँवर, पर्वतका बलभद्र शर्मा, स्याङ्जाका सालिकराम न्यौपाने, तनहुँका झपटबहादुर केसी, गोरखाका राममणि धिताल, मनाङका पेम्बा दोर्जे लामा, मुस्ताङका सोनाम दोर्जे विष्ट, नवलपुरकी सुमित्रा देवी खनाल, म्याग्दीका पृथ्वीमान छन्त्याल, लमजुङका नवीन बानियाँ र बागलुङका हरिप्रसाद श्रेष्ठ रहेका छन्।
सम्मानित प्रत्येक व्यक्तित्वलाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा कांग्रेस सभापति थापासहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमन्त्री रोमी गौचन थकाली र नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा लगायतले सम्मान अर्पण गरेका थिए।
कार्यक्रममा विपि स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ले पार्टीमा योगदान पु¥याउने व्यक्तित्वलाई निरन्तर सम्मान गर्दै आएको बताए। उनले नियमित अधिवेशनबाट अपेक्षाअनुसारको परिणाम आएको उल्लेख गर्दै अब पार्टीमा के हुन्छ भन्ने चासो सबैमा रहेकाले त्यसतर्फ ध्यान दिन सभापति थापालाई आग्रह गरे।
कार्यक्रममा सम्मान कार्यक्रमको उद्देश्य र महत्त्वबारे पुस्तकालयका संरक्षकसमेत रहेका कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रकाश पारेका थिए।
सम्मानित व्यक्तिहरूको तर्फबाट मन्तव्य राख्दै बागलुङका हरिप्रसाद श्रेष्ठले कांग्रेसको विधानले युवालाई अवसर दिएका कारण पार्टीप्रति आकर्षण बढेको बताए। युवाहरूले धैर्य गर्नुपर्ने उल्लेख गर्दै उनले धैर्यका साथ अघि बढ्न सके लक्ष्यमा पुग्न सकिने धारणा राखे।
श्रेष्ठले पछिल्लो समय कांग्रेसको मत घट्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै पार्टीबाट असन्तुष्ट बनेका मतदाताको विश्वास पुनः जित्नुपर्नेमा जोड दिए। उनले पार्टीका केन्द्रीय सदस्यहरू राजधानीमा मात्र सीमित नभई जिल्लाजिल्लामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताए।
कार्यक्रमको सञ्चालन सम्मानित व्यक्ति छनोट समितिका संयोजक डा.कमलराज सापकोटाले गरेका थिए।
















