पोखरा । भारतको अन्तर्राष्ट्रिय एथलेटिक्स टोलीका प्रशिक्षक बसन्त बहादुर रानाले पोखरालाई हिमालको काखमा रहेको स्वर्गजस्तै सुन्दर ठाउँका रूपमा वर्णन गरेका छन् । विश्वका २४ देश पुगिसकेका र ओलम्पिकदेखि एसियाली खेलकुदसम्मका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका रानाले पोखरा रंगशालाको अवलोकनपछि यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका हुन् ।
दसैँ बिदामा आफ्नो जन्मथलो आएका राना बिहीबार पोखरा रंगशाला पुगेका थिए । लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी जिल्लामा पर्ने सुनवल नगरपालिका–८ घर भएका उनले पोखरा प्राकृतिक रूपमा भगवानको उपहारजस्तै लागेको बताए । विश्वका विभिन्न देशमा पुगेर खेलकुदका गतिविधि नजिकबाट नियालेका उनले आफ्नै जन्मभूमि नेपालमा आएर आफ्नो अनुभव सुनाउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।
‘हिमालको काखमा रहेको पोखरा रंगशाला निकै सुन्दर लाग्यो । यो ठाउँ गड गिफ्टजस्तै छ,’ उनले भने, ‘आफ्नो जन्मभूमिमा आएर यस्ता अनुभव साट्न पाउँदा रमाइलो लागिरहेको छ ।’
सन् २००२ मा गोर्खा रेजिमेन्टमा भर्ना भएपछि अन्तर्राष्ट्रिय एथलेटिक्स क्षेत्रमा अघि बढ्ने अवसर पाएका रानाको खेलजीवन संघर्ष र सफलताको उदाहरण बनेको छ । भारतीय सेनामा भर्ती हुन भारत पुगेका उनलाई सुरुमा आफू आज चिनिएको खेल र त्यसको सम्भावनाबारे खासै जानकारी थिएन । सेनामा आबद्ध भएपछि खेलकुद सिक्ने, अभ्यास गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त भएको उनले बताए ।
रानाका अनुसार उनले सन् २०१२ को लन्डन ओलम्पिकमा ५० किलोमिटर रेसवाक विधामा ऐतिहासिक रूपमा भारतको प्रतिनिधित्व गरेका थिए । त्यसयता भारतका तर्फबाट विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएका उनले अन्तर्राष्ट्रिय पदकसमेत जितेका छन् । उनले विश्वका विभिन्न २४ देशमा पुगेर खेलकुद प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
भारतीय सेनामा रहेर खेलकुदमा अघि बढ्ने अवसर पाएपछि नेपालीमा पनि असाधारण क्षमता रहेको आफूले महसुस गरेको उनको भनाइ छ । नेपालीको गोर्खाली पहिचानसँग जोडिएको साहस, क्षमता र मेहनतलाई खेलकुदमार्फत अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सकिने उनले बताए । भारतमा रहँदा आफूले चारपटक कीर्तिमान बनाउन सकेको अनुभवसमेत उनले सुनाए ।
उनको प्रशिक्षणमा ओलम्पिकदेखि एसियाली पदकसम्म
राना अहिले भारतीय सेनामा रेस वाकिङका प्रशिक्षकका रूपमा कार्यरत छन् । उनको प्रशिक्षणमा रहेका खेलाडीले टोकियो र पेरिस ओलम्पिकमा सहभागिता जनाउनुका साथै एसियाली खेलकुदमा पदक जितेका छन् । एसियाली च्याम्पियनसिपमा सफलता हासिल गर्दै एसियाली कीर्तिमानसमेत कायम गर्न आफ्ना खेलाडी सफल भएको उनले बताए ।
अन्तर्राष्ट्रियस्तरमा प्राप्त यस्ता सफलताले प्रतिभावान् खेलाडीलाई उचित प्रशिक्षण, अवसर र वातावरण उपलब्ध गराउन सके उत्कृष्ट नतिजा हासिल गर्न सकिने पुष्टि गर्ने उनको भनाइ छ । नेपालमा पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा रहेको उल्लेख गर्दै उनले त्यस्ता प्रतिभाको पहिचान र विकासका लागि ग्रासरुट तहदेखि नै योजनाबद्ध रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
‘नेपालमा पनि विश्वस्तरमा उत्कृष्ट हुन सक्ने प्रतिभा छन् । आवश्यक छ तिनको पहिचान गर्ने र सुरुदेखि नै उपयुक्त वातावरण तयार गर्ने,’ उनले भने ।
खेलकुदमा सफलता हासिल गर्न प्रणाली आवश्यक
रानाले नेपालको खेलकुद क्षेत्रले सिक्नुपर्ने मुख्य कुरा व्यवस्थित प्रणाली भएको बताए । खेलाडीलाई प्रशिक्षण दिने मात्र नभई उनीहरूको भविष्य सुरक्षित हुने वातावरण निर्माण गर्न सके मात्र खेलकुदमा अपेक्षित सफलता हासिल गर्न सकिने उनको धारणा छ ।
खेलकुदमा लागेर भविष्य सुरक्षित हुन्छ भन्ने विश्वास खेलाडीमा हुनुपर्ने उनले बताए । खेलजीवनपछि जीविकोपार्जनका लागि अन्य काम गर्नुपर्ने बाध्यताले खेलाडीको ध्यान विभाजित हुने र त्यसले प्रदर्शनमा असर पार्ने उनको विश्लेषण छ ।
‘खेलकुदमा लागेर नै भविष्य बनाउन सकिन्छ भन्ने वातावरण सरकारले तयार गर्नुपर्छ । खेलाडीले आफ्नो भविष्य सुरक्षित देखेपछि पूर्ण समर्पणका साथ अभ्यास गर्न सक्छन्,’ उनले भने ।
खेलाडीलाई आर्थिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति दिन सके खेलकुदप्रति युवाको आकर्षण बढ्ने र नयाँ प्रतिभा पहिचान गर्नसमेत सहज हुने उनले बताए । दीर्घकालीन योजना, नियमित प्रशिक्षण, अवसर र खेलाडीको भविष्य सुनिश्चित गर्ने प्रणालीले मात्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी खेलाडी उत्पादन गर्न सक्ने उनको धारणा छ ।
खेल पदकका लागि मात्र होइन, अनुशासित जीवनका लागि पनि
रानाले खेलकुदलाई पदक जित्ने माध्यमका रूपमा मात्र बुझ्न नहुने बताए । खेलले व्यक्तित्व विकास, निर्णय क्षमता, शारीरिक तन्दुरुस्ती, स्वास्थ्य र अनुशासित जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
‘खेल खेल्नु वा पदक जित्नु मात्र यसको उद्देश्य होइन । खेलले व्यक्तिलाई स्वस्थ, अनुशासित र निर्णय लिन सक्ने बनाउँछ,’ उनले भने, ‘भविष्यमा जुनसुकै क्षेत्रमा काम गरे पनि खेलकुदसँग जोडिएको अनुभवले अघि बढ्न सहज बनाउँछ ।’
युवालाई खेलकुदमा सक्रिय हुन आग्रह गर्दै उनले खेलकै माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको झण्डा फहराउने अवसर प्राप्त हुने बताए । खेलकुदले व्यक्तिगत सफलता मात्र नभई देशको पहिचान र प्रतिष्ठा अभिवृद्धिमा पनि योगदान पुर्याउने उनको धारणा छ ।
नेपालका लागि केही गर्ने इच्छा
लामो समयपछि एक महिनाको बिदामा नेपाल आएका रानाले यसपटक पोखरा घुम्ने उद्देश्यका साथसाथै यहाँको खेलकुद संरचना र सम्भावनाको अवलोकन गर्ने लक्ष्यसमेत राखेका छन् । नेपालमा खेलाडी प्रशिक्षणका लागि आवश्यक वातावरण कस्तो छ भन्ने विषयमा बुझ्ने प्रयास गरिरहेको उनले बताए ।
आफू जन्मिएको, हुर्किएको र अध्ययन गरेको देश नेपाल भएकाले भविष्यमा नेपालको खेलकुद क्षेत्रका लागि पनि केही योगदान गर्ने इच्छा रहेको उनले सुनाए । हाल भारतीय सेनामा आबद्ध रहेर रेस वाकिङ खेलको प्रशिक्षणमा सक्रिय रहेका उनले भविष्यमा आफ्नो अनुभव र ज्ञान नेपालका खेलाडीको विकासमा उपयोग गर्न सकिने सम्भावना रहेको समेत बताए ।
















