पोखरा । मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रण गर्न कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ९३६ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, समाजमा त्रास सिर्जना गर्ने तथा शान्तिसुरक्षामा असर पार्ने गतिविधिबारे व्यापक जनगुनासो आएपछि २०८२ साल असोज २७ गते साँझदेखि अभियान सञ्चालन गरिएको हो ।
अभियानअन्तर्गत नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ३६७ वटालाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको प्रहरीले जनाएको छ । अन्य मोटरसाइकलका चालकलाई ट्राफिक जरिवानामार्फत कारबाही गरिएको विवरणमा उल्लेख छ ।
पछिल्लो पटक २०८३ साल कात्तिक १० गते साँझदेखि कात्तिक ११ गते बिहानसम्म नौवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
यसै क्रममा ३६ जनालाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक शान्ति कायम राख्न तथा सडकमा अवाञ्छित गतिविधि रोक्न अभियानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
















