पोखरा । पोखरा महानगरपालिका–६ लेकसाइडमा सालनालसहितको नवजात शिशु मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले शिशुकी आमालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कात्तिक ३ गते साँझ करिब ७:४० बजे लेकसाइडस्थित स्ट्रीट नम्बर ८ को भित्री गल्लीमा रहेको शौचालयको बाहिर पानी ननिस्किएपछि घरधनीले च्याम्बर खोलेर हेर्दा त्यसभित्र नवजात शिशु मृत अवस्थामा फेला परेका थिए ।

सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरेको थियो । मृत शिशुको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट १९ वर्षीय महिला घटनासँग सम्बन्धित रहेको खुलेको थियो ।

प्रहरीका अनुसार ती महिलालाई कात्तिक ४ गते राति करिब १:१५ बजे पोखराको लुकुन्स्वाराबाट पक्राउ गरिएको हो । पक्राउपछि उनको स्वास्थ्य परीक्षण गराई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार ती महिलाको २०७८ सालमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । श्रीमान् सँगको सम्बन्धमा समस्या आएपछि उनी एक्लै लेकसाइडमा डेरामा बस्दै आएको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार ती महिला विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
घटनाबारे थप तथ्य अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0