पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुसमा २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर घटना बारेमा जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार कात्तिक ९ गते बिहान करिब ८:२० बजे पौडेल आफ्नै घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीको पाटामा मृत अवस्थामा फेला परेका थिए । स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी चौकी धम्पुसबाट खटिएको टोलीले घटनास्थल सुरक्षित गरी अनुसन्धान सुरु गरेको उनले बताए ।
प्रहरीका अनुसार मृतकको शरीरमा निलडाम तथा चोटपटक देखिएको थियो । घटनाको अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट अनुसन्धान टोली खटिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कात्तिक ८ गते मृतक पौडेल र केही व्यक्तिबीच सामान्य विवाद भएको थियो । पौडेलले आफ्नो मोबाइल हराएको भन्दै भिनाजु विष्णुप्रसाद गौतमसँग मोबाइल मागेको र मोबाइल नदिएपछि भिनाजुको मोबाइल फुटाइदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि मदिरा सेवन गरिरहेका केही व्यक्तिसँग पनि पौडेलको विवाद भएको प्रहरीको भनाइ छ । विवादका क्रममा पौडेलले हँसिया प्रहार गर्दा दुई जनालाई चोट लागेको र त्यसपछि सबै आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीका अनुसार राति करिब ११ः५९ बजेपछि पाँच जना मिलेर पौडेलको घरमा गई उनलाई बाँसको भाटा, मुक्का तथा लात्तीले प्रहार गरेको र घाइते अवस्थामा बारीको पाटामा लगेर छाडेको खुलेको छ ।
घटनामा संलग्न रहेको आरोपमा माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय लिलबहादुर पुन पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले प्रहरीले घटनास्थलबाट बाँसका दुई भाटा, एक दाउरा, एक हँसिया, बियरको बोतलका टुक्रा तथा पानीको बोतल बरामद गरेको जनाए । पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
















