पोखरा । नेपालीको महान् पर्व दसैँको सांस्कृतिक रौनक पोखरा घुम्न आएका विदेशी पर्यटकमाझ पनि पुगेको छ। कोजाग्रत पूर्णिमाको अवसर पारेर पोखरामा आयोजित पहिलो संस्करणको दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सवमा सहभागी विदेशी पर्यटकले टीका र जमरा लगाउँदै नेपाली मौलिक संस्कृतिको अनुभव गरेका छन्।

महिला पर्यटन व्यवसायी मञ्च ओटेफ ले आयोजना गरेको महोत्सवमा सहभागी पर्यटकले दसैँको टीका–जमरा लगाएपछि आफ्नो अनुभव सुनाएका थिए। उनीहरूका लागि नेपाली संस्कार र परम्परालाई नजिकबाट बुझ्ने तथा स्थानीय संस्कृतिसँग जोडिने अवसर बनेको थियो।

नेपाली मौलिक संस्कृति, परम्परा र दसैँ पर्वको महत्त्वबारे स्वदेशी तथा विदेशी पर्यटकलाई जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

‘टीका, जमरा र चङ्गा चेटः पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने मूल नाराका साथ बाराहीघाट खेलमैदानमा आयोजित महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे।

उद्घाटन गर्दै प्रमुख आचार्यले दसैँ नेपाली समाजको महत्त्वपूर्ण सांस्कृतिक पर्व भएको बताए। दसैँले अग्रजप्रति आदर र सम्मान प्रकट गर्न, परिवारका सदस्यबीच पुनर्मिलन गराउन तथा आपसी सद्भाव कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

पछिल्लो समय दसैँ मनाउने क्रममा केही विकृति देखिन थालेको उल्लेख गर्दै उनले त्यस्ता विकृति हटाएर पर्वको मौलिकता र सांस्कृतिक महत्त्व जोगाउनुपर्नेमा जोड दिए। उनले महोत्सवलाई निरन्तरता दिन आग्रह गर्दै यसले नेपाली संस्कृति र परम्पराको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेलले दसैँ मनाउनकै लागि पर्यटक पोखरा आउने वातावरण निर्माण गर्नुपर्ने बताए। पोखराको पर्यटन क्षेत्र चलायमान बन्दै गएको र पर्यटनमा आशा पलाएको उल्लेख गर्दै उनले महोत्सवलाई सबैले आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिएर निरन्तरता दिनुपर्नेमा जोड दिए।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भन्दै आयोजकको प्रशंसा गरे। पर्यटक रमाइलो गर्न र नयाँ अनुभव लिन भ्रमणमा निस्कने भएकाले उनीहरूका लागि सुरक्षित वातावरण आवश्यक पर्ने उनको भनाइ थियो।

तीनै तहका सरकार र पर्यटन व्यवसायीको सहकार्य तथा पहलका कारण पोखरामा पर्यटकका लागि अनुकूल वातावरण बनेको उल्लेख गर्दै उनले त्यसलाई कायम राख्न सबै पक्षले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

महोत्सवमा सहभागी स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली दसैँको मौलिक परम्परा र संस्कृतिबारे जानकारी गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि आचार्यलगायतले पर्यटकलाई दसैँको टीका र जमरा लगाइदिएर आशीर्वाद प्रदान गरेका थिए। यसले पर्यटकलाई नेपाली संस्कृति र चाडपर्वको प्रत्यक्ष अनुभव गराउने अवसर प्रदान गरेको थियो।

महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष ममता न्यौपानेले पर्यटकलाई टीका र जमरा लगाएर नेपाली परम्पराको महत्त्वबारे जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। दसैँ पर्वलाई पर्यटनसँग जोड्दै नेपाली मौलिक संस्कृति र परम्पराको अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो।

महोत्सव गृहलक्ष्मी ग्यास कम्पनी प्रालिको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड र गण्डकी प्रदेशको प्रवर्द्धनमा आयोजना गरिएको हो।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल, महिला पर्यटन व्यवसायी मञ्चकी संस्थापक अध्यक्ष जमुना पराजुली, निवर्तमान अध्यक्ष उमा रेग्मी भण्डारी, महिला सञ्जाल पोखरा–६ की अध्यक्ष बबिता मल्ल, नेपाल पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना वर्षा शर्मा, महिला उद्यमी सीता बराल, पर्यटन विज्ञ दीपेन्द्र पहारीलगायतले बोलेका थिए।

महोत्सवमा आयरल्यान्डबाट आएकी इफासहित विदेशी पर्यटकले टीका र जमरा लगाएर दसैँको सांस्कृतिक परम्परामा सहभागिता जनाएका थिए। नेपाली समाजमा दसैँको टीका लगाउने र जमरा ग्रहण गर्ने परम्पराले पारिवारिक आत्मीयता, आशीर्वाद र शुभकामना आदानप्रदानलाई विशेष महत्त्व दिने गर्छ। पर्यटकले यही परम्परालाई प्रत्यक्ष अनुभव गर्न पाएका हुन्।

महोत्सवमा सहभागी पर्यटकका प्रतिक्रिया कार्यक्रमको विशेष आकर्षण बनेका थिए। विदेशी भूमिमा हुर्किएका तथा फरक सांस्कृतिक पृष्ठभूमिबाट आएका पर्यटकले नेपाली पर्वको परम्परागत विधिमा सहभागी हुन पाउनु पर्यटनलाई केवल घुमफिरमा सीमित नराखी संस्कृति र जीवनशैली बुझ्ने अवसरका रूपमा समेत महत्त्वपूर्ण देखिएको छ।

महोत्सवको उद्घाटनअघि खहरे चोकदेखि बाराहीघाटसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। महोत्सवमा कलाकारले विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरे ।

उद्घाटन समारोहको सञ्चालन महिला पर्यटन व्यवसायी मञ्चकी महासचिव भावना रानाभाट र पोखरा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवन दाहालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0