पोखरा । दसैँको कोजाग्रत पूर्णिमाका दिनमा पोखराको फेवातालस्थित तालबाराही मन्दिरमा दर्शनार्थीको दिनभर भीड लागेको छ । मन्दिरको पुनर्निर्माण सम्पन्न भई विधिवत् पूजा पुनः सुरु भएपछि भक्तजनको आगमन पुरानै अवस्थामा फर्किएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सूचना अधिकारी राजेन्द्र खत्रीका अनुसार पुनर्निर्माणका क्रममा मन्दिरमा नियमित पूजाको सट्टा हवनकुण्डमा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । घटस्थापनाका दिन क्षमापूजा गरी विधिवत् रूपमा मन्दिरमा पुनः पूजा सुरु गरिएको उनले जानकारी दिए ।

कोजाग्रत पूर्णिमा विशेष धार्मिक महत्त्व बोकेको दिन भएकाले पनि मन्दिरमा दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको खत्रीले बताए । पुनर्निर्माणपछि मन्दिरमा पूजा–आराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्षसमेत रहेका मन्दिरका पुजारी महेश्वर पहारीले पुनर्निर्माणपछि मन्दिर थप सुरक्षित र दीर्घकालसम्म टिकाउ हुने विश्वास व्यक्त गरे । तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्त्व विभागबीचको समन्वयमा मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गरिएको उनले बताए । २०७२ सालको भूकम्पका कारण भुइँतलासहित तीन तले मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किएपछि तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनर्निर्माणका लागि मन्दिर भत्काएको थियो । २०७९ साल कात्तिकमा भत्काइएको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्न करिब चार वर्ष लागेको हो । पुनर्निर्माणका क्रममा मन्दिरको पुरानो स्वरूप र प्यागोडा शैलीलाई कायम राखिएको छ भने काठमा परम्परागत शैलीअनुसार बुट्टा कुदेर मन्दिर निर्माण गरिएको छ ।

मन्दिर पुनर्निर्माणमा करिब एक करोड ४० लाख रुपैयाँ खर्च भएको उपाध्यक्ष पहारीले जानकारी दिए । उनका अनुसार पुरातत्त्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो भने बाँकी रकम प्रदेश, स्थानीय तथा सङ्घीय सरकार र भक्तजनको सहयोगबाट जुटाइएको हो । भौगोलिक अवस्थिति तथा निर्माणस्थलको सीमितताका कारण पनि पुनर्निर्माणमा केही ढिलाइ भएको उनले बताए ।

मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिरमा नियमित पूजा गर्न नपाउँदा दर्शनार्थीले मन्दिरमा रहेको प्रतिमामा पूजा गरेर फर्किनुपर्ने अवस्था थियो । यसले धार्मिक आस्थासँगै मन्दिरमा निर्भर पर्यटन व्यवसायमा समेत प्रभाव पारेको थियो । अब भने पुनर्निर्माणपछि मूल मन्दिरमै पुरानै मूर्तिमा पूजा गर्न पाउने भएपछि भक्तजनमा उत्साह थपिने अपेक्षा गरिएको छ ।

फेवातालको बीचमा रहेको तालबाराही मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । मन्दिर परिसरमा तालबाराहीसँगै गणेश मन्दिरसमेत रहेको छ । धार्मिक आस्थाका कारण वर्षभरि नै भक्तजनको आगमन हुने यस मन्दिरमा दसैँलगायत विशेष पर्वमा दर्शनार्थीको चहलपहल बढ्ने गर्छ । मन्दिर दर्शन गर्ने मात्र नभएर यहाँबाट देखिने सुन्दर दृश्य नियाल्नका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक मन्दिर परिसरमा पुग्ने गर्दछन् । मन्दिरमा पुग्न बाराहीघाटबाट डुंगा चढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0