पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडमा खाना, खेल, संगीत, मनोरञ्जन तथा विभिन्न सामुदायिक गतिविधिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘मिरक्याट पार्क’ सञ्चालनमा आएको छ। चार रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा साढे चार करोड रुपैयाँ लगानी गरिएको मिरक्याट इन नेपालका सञ्चालक सागर भट्टराईले बताएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा भट्टराईले समुदायमा जोडिएर काम गर्ने, सहकार्य बढाउने र नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले पार्कको सुरुवात गरिएको जानकारी दिए। उनका अनुसार पार्कलाई व्यावसायिक गतिविधिसँगै विभिन्न रुचि र पृष्ठभूमिका मानिसहरू भेटघाट गर्ने, नयाँ अनुभव साटासाट गर्ने तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्ने साझा स्थलका रूपमा विकास गर्न खोजिएको छ।

मिरक्याट पार्कको मूल अवधारणा मानिसहरू भेट्ने, नयाँ ठाउँ र अनुभवसँग जोडिने तथा आपसी सम्बन्ध विस्तार गर्ने सोचमा आधारित रहेको भट्टराईले बताए। यसअघि योजनाका रूपमा अघि बढाइएको अवधारणालाई अहिले भौतिक संरचनासहित कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ।

पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर १७ मा रहेको पार्कमा खाना, कफी, बेकरी, खेलकुद, संगीत, गेमिङ, सिर्जनशील गतिविधि तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार उपलब्ध छन्। पार्कमा विभिन्न व्यवसाय तथा उद्यमीले आफ्ना उत्पादन र सेवा प्रस्तुत गर्ने अवसरसमेत पाएका छन्।

मिरक्याट पार्कसँगै मिरक्याट इन नेपालले डिजिटल प्लेटफर्मलाई पनि अघि बढाएको छ। मिरक्याट इन नेपालका प्राविधिक तथा आरम्भ आईटीका सुमित पाठकले आवश्यक जानकारी समेटिएको एप सञ्चालनमा ल्याइएको जानकारी दिए।

उनका अनुसार एपमार्फत पदयात्रासहित पर्यटनसम्बन्धी विभिन्न गतिविधिको जानकारी उपलब्ध गराइनेछ। डिजिटल प्लेटफर्मले नेपाल आउने विदेशी पर्यटक, ब्याकप्याकर, डिजिटल नोमाड, स्थानीय गाइड, होस्ट, उद्यमी, क्रिएटर तथा पर्यटन व्यवसायीलाई एकआपसमा जोड्ने लक्ष्य राखेको छ।

संगीत तथा सिर्जनशील गतिविधिका लागि ब्यान्ड जाम, खेलकुद तथा सामाजिक अन्तरक्रियाका लागि डिकहाउस पिकलबल र गेमिङका लागि मिनी आर्केड हबसमेत पार्कमा रहेका छन्।

पार्कमा योग, वर्कसप, पोडकास्ट, ग्यादरिङ तथा विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्न बहुउद्देश्यीय हलको व्यवस्था गरिएको छ। यसले व्यवसायी, सिर्जनशील व्यक्ति, पर्यटक तथा स्थानीय समुदायलाई एउटै स्थानमा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0