पोखरा । पुनर्निर्माण सम्पन्न भएसँगै पोखराको फेवातालको बीचमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिर आइतबारदेखि पुनः सञ्चालनमा आएको छ । मन्दिर खुलेसँगै अब श्रद्धालु भक्तजनले पुनः मूल मन्दिरमा रहेको पुरानै मूर्तिमा पूजा तथा दर्शन गर्न पाउने भएका छन् ।

लामो समयको प्रतीक्षापछि मन्दिर पुनः सञ्चालनमा आए पनि पहिलो दिन घटस्थापनाको अवसरमा दर्शनार्थीको सङ्ख्या विगतका वर्षको तुलनामा केही कम देखिएको छ । यद्यपि, मन्दिरको पुनर्निर्माण सम्पन्न भएको र मौसमसमेत अनुकूल बन्दै गएकाले आगामी दिनमा दर्शनार्थी तथा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।

तालबाराही मन्दिर पुनर्निर्माण प्राविधिक समितिका संयोजक भरत पहारीले पुनर्निर्माणको काम सम्पन्न भएसँगै पूजाआजाका लागि मन्दिर खुला गरिएको जानकारी दिए । उनका अनुसार बृहत् योजना अन्तर्गत मन्दिर परिसरका अन्य केही संरचनाको निर्माण कार्य भने अझै बाँकी छ ।

२०७२ सालको भूकम्पका कारण भुइँतलासहित तीन तले मन्दिर करिब तीन इन्च दक्षिणतर्फ ढल्किएपछि तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनर्निर्माणका लागि मन्दिर भत्काएको थियो । २०७९ साल कात्तिकमा भत्काइएको मन्दिरको पुनर्निर्माण सम्पन्न गर्न करिब चार वर्ष लागेको हो । पुनर्निर्माणका क्रममा मन्दिरको पुरानो स्वरूप र प्यागोडा शैलीलाई कायम राखिएको छ भने काठमा परम्परागत शैलीअनुसार बुट्टा कुदेर मन्दिर निर्माण गरिएको छ ।

मन्दिर पुनर्निर्माणमा करिब एक करोड ४० लाख रुपैयाँ खर्च भएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले जानकारी दिए । उनका अनुसार पुरातत्त्व विभागबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो भने बाँकी रकम प्रदेश, स्थानीय तथा सङ्घीय सरकार र भक्तजनको सहयोगबाट जुटाइएको हो । भौगोलिक अवस्थिति तथा निर्माणस्थलको सीमितताका कारण पनि पुनर्निर्माणमा केही ढिलाइ भएको उनले बताए ।

मन्दिर पुनर्निर्माणका क्रममा मूल मन्दिरमा नियमित पूजा गर्न नपाउँदा दर्शनार्थीले मन्दिरमा रहेको प्रतिमामा पूजा गरेर फर्किनुपर्ने अवस्था थियो । यसले धार्मिक आस्थासँगै मन्दिरमा निर्भर पर्यटन व्यवसायमा समेत प्रभाव पारेको थियो । अब भने पुनर्निर्माणपछि मूल मन्दिरमै पुरानै मूर्तिमा पूजा गर्न पाउने भएपछि भक्तजनमा उत्साह थपिने अपेक्षा गरिएको छ ।

मन्दिरका पुजारीसमेत रहेका पहारीले पुनर्निर्माणपछि मन्दिर थप सुरक्षित र दीर्घकालसम्म टिकाउ हुने विश्वास व्यक्त गरे । तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्त्व विभागबीचको समन्वयमा मन्दिरको पुनर्निर्माण गरिएको हो ।फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले मन्दिर पुनर्निर्माण नहुँदा डुङ्गा व्यवसायमा समेत असर परेको बताए । मन्दिर पुनः सञ्चालनमा आएसँगै डुङ्गा चढेर मन्दिर दर्शन गर्न जाने पर्यटक तथा भक्तजनको सङ्ख्या बढ्ने उनको विश्वास छ ।

तालबाराही मन्दिरमा स्वदेशी तथा विदेशी पर्यटकसँगै धार्मिक आस्था राख्ने भक्तजन नियमित रूपमा पुग्ने गरेका छन् । यो मन्दिर पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो । मन्दिर दर्शन गर्ने मात्र नभएर यहाँबाट देखिने सुन्दर दृश्य नियाल्नका लागि समेत आन्तरिक तथा बाह्य पर्यटक मन्दिर परिसरमा पुग्ने गर्दछन् । मन्दिरमा पुग्न बाराहीघाटबाट डुंगा चढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0