पोखरा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजनामा जुनियर युवा रेडक्रस सर्कलका शिक्षकनायकहरूका लागि जिल्लास्तरीय चारदिने प्राथमिक उपचार गोष्ठी बिहीबारदेखि पोखरा–३१ पचभैयास्थित हिमालय फरेस्ट रिसोर्टमा सुरु भएको छ।

‘बसाइँसराइका सन्दर्भमा प्राथमिक उपचार’ भन्ने मूल भावसहित आयोजना गरिएको गोष्ठीमा कास्कीका पाँचवटै स्थानीय तहअन्तर्गतका २४ विद्यालयका २४ जना शिक्षकनायक सहभागी छन्। पोखरा महानगरपालिकासहित मादी, रूपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका विद्यालयबाट शिक्षकनायकहरू सहभागी भएका हुन्।

विद्यालय तथा समुदायमा हुन सक्ने विपद्, दुर्घटना तथा आकस्मिक अवस्थाको सामना गर्न शिक्षकनायकहरूको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको आयोजकले जनाएको छ।

गोष्ठीको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका निवर्तमान सभापति डण्डराज शर्माले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप प्रदान गरी दक्ष जनशक्ति तथा स्वयंसेवक उत्पादन गर्न यस्ता प्रशिक्षणले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

उनले प्राथमिक उपचारको ज्ञान विद्यालय तहदेखि नै विकास गर्न सके विपद् तथा आकस्मिक अवस्थामा तत्काल मानवीय सहयोग पुर्‍याउन सहज हुने उल्लेख गर्दै जुनियर युवा रेडक्रसको परिचालन र मानवीय सेवाका क्षेत्रमा समेत तालिमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले शाखाका आन्तरिक स्रोत–साधनको समुचित प्रयोग गर्दै शिक्षकनायकहरूलाई स्वयंसेवा, विपद् व्यवस्थापन तथा सामाजिक र मानवीय सेवाका क्षेत्रमा थप सक्षम बनाउन तालिम उपयोगी हुने बताए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपमन्त्री एवं जुनियर युवा समिति संयोजक डिल्लीराम बरालले विद्यालय तथा समुदायमा हुन सक्ने विभिन्न विपद् र दुर्घटनाका समयमा शिक्षक तथा विद्यार्थीलाई प्रभावकारी रूपमा परिचालन गर्न प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप आवश्यक रहेको बताए।

उनले विद्यालयमा हुन सक्ने जोखिम न्यूनीकरण, विपद्का समयमा शिक्षक–विद्यार्थीको परिचालन तथा सकारात्मक सोचसहितको सन्देश प्रवाह गर्न यस्ता प्रशिक्षणमूलक कार्यक्रम महत्वपूर्ण हुने धारणा राखे।

तालिमका मुख्य प्रशिक्षक तथा रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले सहभागीले पालना गर्नुपर्ने आचारसंहिता तथा प्राथमिक उपचारसम्बन्धी तालिमको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

चार दिनसम्म सञ्चालन हुने तालिममा मोहनसिंह खड्का, सूर्यप्रसाद तिमिल्सिना ‘पालुवा’ र मित्रलाल सुवेदीलगायतले विभिन्न विषयमा प्रशिक्षण दिनेछन्। तालिममा प्राथमिक उपचारका सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यासलाई समेत प्राथमिकता दिइने आयोजकले जनाएको छ।

जुनियर युवा समिति संयोजक डिल्लीराम बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रेडक्रसका पदाधिकारी, शिक्षकनायक तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0