पोखरा । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यस वर्षको बडादसैँको अवसरमा आयोजना गर्न लागेको ‘विन्ध्यवासिनी नवदुर्गा महोत्सव–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
समितिले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवअन्तर्गत हुने धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमबारे जानकारी गराएको हो।
वि.सं. २०६४ सालदेखि निरन्तर आयोजना हुँदै आएको नवदुर्गा महोत्सवअन्तर्गत यस वर्ष घटस्थापनाका दिन नवदुर्गा शोभायात्रासहित विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।
विगत दुई वर्ष भने शोभायात्रा हुन सकेको थिएन। वि.सं. २०८१ मा राष्ट्रिय शोक र २०८२ मा विषम परिस्थितिका कारण शोभायात्रा स्थगित गरिएको समितिले जनाएको छ। यस वर्ष भने शोभायात्रालाई पुनः भव्य रूपमा आयोजना गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए।
घटस्थापनाका दिन बिहान ७ बजे विन्ध्यवासिनी पार्कबाट सुरु हुने शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेनटोल, नालामुख, तेर्सापट्टी, पालेखीचोक, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल हुँदै पुनः नालामुख र भैरवटोलबाट विन्ध्यवासिनी मन्दिरको प्राङ्गणमा पुग्नेछ। शोभायात्रा मध्याह्न १२ बजे समापन हुने जनाइएको छ।
महोत्सवअन्तर्गत घटस्थापनादेखि महानवमीसम्म विन्ध्यवासिनी मन्दिर परिसरमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ आयोजना हुनेछ। महायज्ञमा कथा प्रवचन, भजनकीर्तन तथा महाआरती गरिनेछ।
दैनिक मध्याह्न १२ बजेदेखि २ बजेसम्म कथा प्रवचन, २ बजेदेखि ४ बजेसम्म भजनकीर्तन र साँझ ६ बजे महाआरती आयोजना गरिने समितिले जनाएको छ।
यसैगरी, विजयादशमीका दिन नित्य पूजा सम्पन्न भएपछि बिहान ४ बजेदेखि नै भक्तजनका लागि मन्दिरको दर्शन खुला गरिने समितिले जनाएको छ।
समितिले विन्ध्यवासिनी मन्दिरलाई पोखराको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। विशेषगरी युवा तथा बालबालिकालाई आफ्नो धर्म, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइएको समितिको भनाइ छ।
मन्दिर परिसरमा गुरुकुल विद्याश्रम, प्राकृतिक चिकित्सा केन्द्र, ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेको तथा अशक्त तथा अपाङ्गता भएका भक्तजनका लागि लिफ्ट सेवासमेत उपलब्ध रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महोत्सवलाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन सुरक्षा, यातायात, स्वास्थ्य, खानेपानी तथा सरसफाइको उचित व्यवस्था मिलाइएको समितिले जनाएको छ।
















