पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा महानगरपालिका–५ स्थित बाराही माध्यमिक विद्यालयमा डेङ्गी रोग संक्रमण रोकथामसम्बन्धी सचेतना तथा खोज–नष्ट अभियान सञ्चालन गरेको छ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा सञ्चालित डेङ्गी रोग संक्रमण रोकथाम कार्यक्रमअन्तर्गत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई डेङ्गीको संक्रमण, रोकथामका उपाय र लामखुट्टेको बासस्थान नष्ट गर्ने विषयमा अभिमुखीकरण गरिनुका साथै विद्यालय परिसरमा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति रमा न्यौपाने कोइरालाले विद्यालयका बालबालिकामार्फत समुदायसम्म डेङ्गी रोकथामसम्बन्धी सन्देश पुर्याउन सकिने बताइन्। विद्यालय र समुदायमा नियमित रूपमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिन सकेमा कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
विद्यालयका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकमा समेत डेङ्गी संक्रमण देखिन थालेकाले सचेतना कार्यक्रम प्रभावकारी भएको बताए। विद्यालयमा नै यस्तो कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीले सिकेका कुरा घरपरिवार र समुदायसम्म पुर्याउन सक्ने उनले उल्लेख गरे।
नेपाल रेडक्रस सोसाइटी कास्कीले वर्षायाममा कास्कीलाई डेङ्गीको उच्च जोखिम क्षेत्रका रूपमा मूल्याङ्कन गर्दै विगत केही वर्षदेखि संक्रमण रोकथाम तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत विद्यालयमा अभिमुखीकरण, जोखिममा रहेका समुदायका टोल–टोलमा खोज तथा नष्ट अभियान र जनचेतनामूलक गतिविधि सञ्चालन हुँदै आएका छन्।
अभियानका क्रममा पानी जम्ने भाँडाकुँडा, बोतल, प्लास्टिकजन्य सामग्री, सिसी तथा बिर्का, फूलदानी, फ्रिज पछाडि जम्ने पानी र एसीबाट निस्कने पानीलगायत लामखुट्टेको प्रजननस्थल बन्न सक्ने स्थान पहिचान गरी सफा गर्ने तथा नष्ट गर्ने कार्य गरिएको थियो।
कार्यक्रममा जलवायु परिवर्तन, अव्यवस्थित बस्ती तथा बढ्दो सहरीकरणका कारण लामखुट्टेका लागि अनुकूल वातावरण सिर्जना भइरहेको भन्दै घर तथा विद्यालय परिसरमा पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र डेङ्गी रोकथामका लागि समुदायस्तरमै सक्रिय हुन आग्रह गरिएको थियो।
डेङ्गीबाट बच्न शरीर ढाक्ने कपडा लगाउने, दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउने तथा घर वरपर पानी जम्न नदिने विषयमा समेत विद्यार्थीलाई जानकारी गराइएको थियो। डेङ्गी संक्रमणका क्रममा उच्च ज्वरो, शरीर तथा जोर्नी दुख्ने, टाउको दुख्ने, आँखाको गेडी वरिपरि दुख्ने तथा शरीरमा बिमिरा देखिनेजस्ता लक्षण देखिन सक्ने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिन आग्रह गरिएको थियो।
कार्यक्रममा चिकित्सकीय सल्लाहबिना औषधि सेवन नगर्नसमेत सचेत गराइएको थियो। विशेषगरी डेङ्गीको शङ्का लागेका बिरामीले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम उपचार तथा औषधि सेवन गर्नुपर्नेमा जोड दिइएको थियो।
विद्यालयमा आयोजित कार्यक्रममा करिब ९० जना विद्यार्थी प्रत्यक्ष रूपमा सहभागी भएका थिए भने विद्यालयका अन्य विद्यार्थीसमेत गरी करिब ३७० जना अप्रत्यक्ष रूपमा लाभान्वित भएको जनाइएको छ।
कार्यक्रममा शिक्षकनायक राधा तिमिल्सिना, विद्यालय स्वास्थ्य कार्यक्रमकी नर्स अञ्जना सिग्देललगायतले डेङ्गी रोकथामका विषयमा धारणा राखेका थिए। नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यक्रम फोकल पर्सन तथा सूचना अधिकारी नवराज भण्डारी र कर्मचारी दीपकनाथ भण्डारीले कार्यक्रम सहजीकरण गरेका थिए ।
जुनियर रेडक्रस सर्कलकी अध्यक्ष मिना डाँगीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
















