पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्कीले अन्नपूर्ण गाउँपालिकामा लागत साझेदारीमा निर्माणाधीन तथा सम्पन्न विभिन्न आयोजनाको अनुगमन गरेको छ।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा मंगलबार भएको अनुगमनमा जिसस कास्कीको ६० प्रतिशत र अन्नपूर्ण गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा सञ्चालित आयोजनाको स्थलगत निरीक्षण गरिएको हो।
अनुगमनका क्रममा अन्नपूर्ण गाउँपालिका–३ को वडा भवन ट्रस निर्माण, बहादुरे माध्यमिक विद्यालयको चमेना गृह निर्माण, वडा नम्बर ६ स्थित संगम माध्यमिक विद्यालय भवन मर्मत तथा वडा नम्बर १ को स्वास्थ्य चौकी तथा वडा कार्यालय भवनको कम्पाउन्ड पर्खाल र तारबार निर्माण योजनाको निरीक्षण गरिएको जिसस कास्कीले जनाएको छ।
अनुगमनका क्रममा जिसस कास्कीका प्रमुख पौडेलले केही आयोजनामा निर्धारित मापदण्ड र गुणस्तरअनुसार काम नभएको पाइएको भन्दै तत्काल सुधार गर्न आग्रह गरे। उनले विकास निर्माणका योजनामा गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउँदै सार्वजनिक लगानीको अधिकतम सदुपयोग हुनुपर्नेमा जोड दिए।
अनुगमन टोलीमा अन्नपूर्ण गाउँपालिका क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिसस कास्कीका सदस्यद्वय बालिका सुवेदी र गणेशबहादुर जिसी, जिल्ला समन्वय अधिकारी नवराज बराल, इन्जिनियर महेश पोखरेलसहित प्राविधिक तथा कर्मचारी र स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।
जिसस कास्कीले लागत साझेदारीमा सञ्चालित योजनाको नियमित अनुगमनमार्फत निर्माण कार्यको गुणस्तर, प्रगति तथा सार्वजनिक लगानीको प्रभावकारिता सुनिश्चित गर्ने जनाएको छ।
















