पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता अर्जुन खनालले राप्रपा गण्डकी प्रदेश अध्यक्ष पदमा आफ्नो दावेदारी घोषणा गरेका छन्।
हाल केन्द्रीय सदस्य रहेका खनालले देशको बदलिँदो राजनीतिक परिस्थिति, नयाँ पुस्ताको अपेक्षा र समयको मागलाई ध्यानमा राख्दै प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन्।
अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै खनालले राप्रपा गण्डकीलाई संगठित, सक्रिय, अनुशासित, प्रविधिमैत्री र परिणाममुखी संगठनका रूपमा विकास गर्ने बताएका छन्। उनले युवालाई पार्टीको सहभागितामा मात्र सीमित नराखी नीति, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन्।
अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकीकृत गर्दै वर्षभरि जनतासँग जोडिएको संगठन निर्माण गर्ने आफ्नो प्राथमिकता रहेको खनालको भनाइ छ। संगठन विस्तार तथा पार्टी गतिविधिमा आधुनिक प्रविधि र डिजिटल माध्यमको प्रभावकारी प्रयोगलाई समेत उनले प्राथमिकतामा राखेका छन्।
खनालले परम्परागत प्रतिक्रियामुखी राजनीतिक शैलीभन्दा ‘प्रोएक्टिभ पोलिटिक्स’ अर्थात् समयअनुकूल मुद्दाको पहिचान, स्पष्ट राजनीतिक एजेन्डा निर्माण र समाधानमुखी योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन्।
गण्डकी प्रदेशका पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषि, रोजगारी, उद्यमशीलता, युवा पलायन र सुशासनका विषयलाई प्राथमिकतामा राखेर स्पष्ट नीति, एजेन्डा तथा कार्ययोजना निर्माण गर्ने उनको भनाइ छ। यस्ता विषयमा गण्डकीबाट राष्ट्रियस्तरको राजनीतिक बहस र प्रभाव सिर्जना गर्ने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
‘बलियो संगठन नै बलियो पार्टीको आधार हो’ भन्ने मान्यता अघि सार्दै खनालले अध्यक्ष पदलाई प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा ग्रहण गर्ने बताएका छन्। उनले व्यक्तिगत स्वार्थभन्दा संगठनको हित, नाराभन्दा कार्ययोजना र कार्यक्रमभन्दा परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
राप्रपाको विचार, सिद्धान्त र राजनीतिक पहिचानलाई समयानुकूल संगठनात्मक क्षमता, आधुनिक प्रविधि र नयाँ पुस्ताको ऊर्जासँग जोडेर गण्डकी प्रदेशलाई पार्टीको सुदृढ र सक्रिय संगठनको आधार बनाउने आफ्नो उद्देश्य रहेको खनालले बताएका छन्।
अध्यक्ष पदको दावेदारी घोषणा गर्दै उनले पार्टीका अग्रज नेतृत्व, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, युवा पुस्ता, शुभेच्छुक तथा राष्ट्रवादी धारमा रहेका सबैसँग सल्लाह, सुझाव, सहयोग र समर्थनका लागि अपिलसमेत गरेका छन्। राप्रपा गण्डकी प्रदेशको अधिवेशन असोज २१ गते पोखरामा हुँदैछ।
















