पोखरा । सामाजिक सञ्जालमा मिथ्या तथा अपुष्ट सामग्रीको फैलावट बढिरहेका बेला पत्रकारितालाई तथ्य, तथ्यांक र प्रमाणमा आधारित बनाउन गण्डकी प्रदेशमा ‘डेटा ड्रिभन जर्नालिज्मको एड्भान्स’ तालिम शुक्रबारदेखि सुरु भएको छ। गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयको आयोजना तथा सेन्टर फर मिडिया रिसर्च (सिएमआर), नेपालको प्राविधिक सहयोगमा पोखरामा सुरु भएको तालिम छ दिनसम्म सञ्चालन हुनेछ। तालिममा गण्डकी प्रदेशमा क्रियाशील १८ जना पत्रकार सहभागी छन्।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले यसअघि आधारभूत तालिम लिएका पत्रकारबाट थप प्रशिक्षणको आवश्यकता महसुस गरी एड्भान्स कोर्स आयोजना गरिएको बताइन्।
उनका अनुसार तालिमले गण्डकीको पत्रकारितामा नयाँ सीप र अभ्यास थप्नुका साथै तालिममा सहभागी पत्रकारलाई भविष्यमा आफ्ना जिल्लाका अन्य पत्रकारलाई समेत ज्ञान हस्तान्तरण गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।
‘अनुमानको भरमा गरिने पत्रकारितालाई पछाडि पार्दै सत्य, तथ्य र तथ्यांकमा आधारित पत्रकारिता विकास गर्न यो तालिम महत्वपूर्ण छ,’ उनले भनिन्, ‘गण्डकीको पत्रकारिताका लागि मात्र होइन, अन्य प्रदेशका लागि समेत यो एउटा सिकाइ बन्न सक्छ।’
प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकारलाई कार्यक्षेत्रमा आवश्यक पर्ने सीप प्रदान गर्नुका साथै तालिमपछि सहभागीले आफ्ना सहकर्मीबीच ज्ञान र सीप हस्तान्तरण गर्ने अपेक्षा गरेको छ। यसले पत्रकारितामा तथ्यांकको प्रयोग बढाउन र समाचारलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने कार्यालयको विश्वास छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकीको सूचना अधिकारी उपसचिव हिमा पोखरेलले सामाजिक सञ्जालमा आउने सामग्रीमध्ये कुन सही र कुन गलत भन्ने छुट्याउन चुनौती बढ्दै गएको बताइन्। सूचना प्रविधिमा आएको तीव्र परिवर्तनसँगै पत्रकारितामा थप संवेदनशीलता र जिम्मेवारी आवश्यक रहेको उनको भनाइ थियो।
उनले यस्ता तालिमले पत्रकारको क्षमता अभिवृद्धि गर्नुका साथै तथ्यमा आधारित सूचना प्रवाहलाई बलियो बनाउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा पनि प्रदेश सरकारले यस्ता कार्यक्रमलाई साथ दिने प्रतिबद्धता जनाइन्।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले पत्रकार महासंघलाई सरकारले बजेट कटौती गरेको विषयमा दुःख व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न पत्रकारलाई आग्रह गरे। पत्रकारको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बरालले पत्रकारिता हरेक दिन नयाँ कुरा सिक्नुपर्ने पेसा भएको बताए। ‘पत्रकारिता हाम्रो लागि दिनदिनैको सिकाइ हो । तथ्य र तथ्यांक पत्रकारिताको मेरुदण्ड हो,’ उनले भने।
तालिमका प्रशिक्षक अरुण कार्कीले यसअघि सञ्चालन गरिएको आधारभूत तालिममा सहभागी पत्रकारको मागअनुसार एड्भान्स कोर्स तयार पारिएको बताए। तालिममा तथ्यांकमा रहेको ‘ग्याप’ पहिचान गर्ने, तथ्यांकको प्रयोग गर्ने तथा तथ्यांकमा आधारित समाचार उत्पादन गर्ने विषयमा अभ्यास गराइने उनले जानकारी दिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा तथ्यांकको प्रयोग गरेर कसरी पत्रकारिता भइरहेको छ भन्ने विषयमा समेत तालिममा छलफल हुने कार्कीले बताए।

पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट अपुष्ट, भ्रामक र मिथ्या सामग्री तीव्र रूपमा फैलिने अवस्था देखिएकाले पत्रकारका लागि तथ्य पहिचान र तथ्य प्रमाणीकरणसम्बन्धी सीप झनै महत्वपूर्ण बन्दै गएको छ। यस्तो अवस्थामा पत्रकारलाई डेटा ड्रिभन जर्नालिज्मको सीप प्रदान गर्ने तालिमले समाचार उत्पादनमा प्रमाण र तथ्यांकको प्रयोग बढाउन तथा गलत सूचना फैलिन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तालिममा सहभागी पत्रकार खीमा गुरुङ र सागर ढकालले पनि तालिमको आवश्यकता र उपयोगिताबारे धारणा राखेका थिए।
प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रेस रजिष्ट्रारको कार्यालयका उपसचिव प्रभाकर घिमिरेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन कार्यालयका सहायक प्रशासकीय अधिकृत ज्ञानेश्वर पौडेलले गरेका थिए। तालिम उद्घाटन समारोहका सहभागीले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारले तथ्य पहिचान, विश्लेषण र प्रमाणीकरण गर्ने सीपलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
















