पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि चयनका लागि भइरहेको मतगणनाका क्रममा सञ्चारकर्मीको मोबाइल फोन खोसिएको र खिचिएका फोटो तथा भिडियो मेटाइएको भन्दै लेखनाथ पत्रकार मञ्चले आपत्ति जनाएको छ।
पोखरास्थित पोखरा उद्योग वाणिज्य संघको हलमा भइरहेको मतगणनाका क्रममा समाचार संकलनका लागि पुगेका लेखनाथ पत्रकार मञ्चका सदस्य तथा सञ्चारकर्मी सञ्जय आचार्यले आफ्नो मोबाइल फोनबाट फोटो तथा भिडियो खिचिरहेको अवस्थामा मोबाइल खोसिएको र त्यसमा रहेका फोटो तथा भिडियोसमेत डिलिट गरिएको जानकारी गराएका छन्।
समाचार संकलनका क्रममा सञ्चारकर्मीले खिचेका सामग्री मेटिनुका साथै मोबाइल फोन नै खोसिएको घटनाप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विष्णुहरि पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
मञ्चले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गरेको छ।
त्यसैगरी, आगामी दिनमा समाचार संकलन तथा प्रसारणका क्रममा पत्रकार तथा सञ्चारकर्मीलाई निर्वाध रूपमा आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्ने वातावरण सुनिश्चित गर्न पनि मञ्चले आग्रह गरेको छ।
लेखनाथ पत्रकार मञ्चले पत्रकारको पेशागत स्वतन्त्रता तथा समाचार संकलनका क्रममा प्रयोग हुने सामग्रीको सुरक्षालाई गम्भीर विषयका रूपमा लिएको जनाएको छ।
















