पोखरा । प्रिमियम मोटरसाइकल ब्राण्ड सिएफ मोटो ले पोखरामा नयाँ थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेर पार्टस्को आउटलेट सञ्चालनमा ल्याएको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्य तथा वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको विशेष आतिथ्यमा शनिबार आउटलेटको उद्घाटन गरिएको हो।उद्घाटन कार्यक्रममा सिएफ मोटो नेपालका प्रतिनिधि, डिलर तथा व्यावसायिक साझेदार, अटोमोबाइल क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी र मोटरसाइकलप्रेमीहरूको उपस्थिति थियो। प्रमुख अतिथि गौतमले युवाहरु मिलेर सिएफ मोटो ले पोखरामा आउटलेट सञ्चालन गरेको भन्दै खुशी व्यक्त गरिन् ।
सिएफ मोटो नेपालका अधिकृत वितरक रिशी ट्रेड सेन्टर ले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा थ्री एस आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ आउटलेटबाट पोखरा तथा आसपासका ग्राहकले सिएफ मोटो मोटरसाइकलको बिक्री, आधिकारिक सर्भिस तथा जेन्युन स्पेर पार्टस् एकै स्थानबाट प्राप्त गर्न सक्नेछन्।
पोखरा गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटन केन्द्र हुनुका साथै हिमाली तथा उच्च पहाडी क्षेत्रतर्फ मोटरसाइकल यात्राका लागि महत्वपूर्ण प्रवेशद्वार भएकाले यहाँ थ्री एस आउटलेट सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। विशेषगरी दुर्गम तथा हिमाली क्षेत्रमा यात्रा गर्ने सिएफ मोटो राइडरलाई बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीको भनाइ छ।
नयाँ आउटलेटबाट ग्राहकले टेस्ट राइड, मोटरसाइकल खरिद, नियमित सर्भिसिङ, प्राविधिक जाँच, जेन्युन स्पेर पार्टस् तथा अफ्टर सेल्स सपोर्ट प्राप्त गर्न सक्नेछन्।
आउटलेटका सञ्चालक इन्जिनियर महेश श्रेष्ठका अनुसार सिएफ मोटो का नेपाली बजारमा उपलब्ध लोकप्रिय मोडलमा २५० ड्युल इएफआइ, ४५० एम टी, ४५० सिएलसि, ४५० सिएलसि बोब्बर र ४५० एस आर एस लगायत रहेका छन्। कम्पनीले विशेषगरी एड्भेन्चर तथा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा आफ्नो बजार विस्तार गर्दै आएको छ।
आउटलेट उद्घाटनको अवसरमा कम्पनीले ग्राहकका लागि विशेष अफरसमेत सार्वजनिक गरेको छ। उद्घाटनकै दिन ८ वटा मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको थियो। अफरअन्तर्गत सिएफ मोटो मोटरसाइकल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट, निःशुल्क हेल्मेट तथा ह्यान्डगार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ।
त्यस्तै, २५० ड्युल मोडलमा पाँच वर्षको इन्जिन वारेन्टी तथा फाइनान्समार्फत मोटरसाइकल खरिद गर्दा न्यूनतम ४० प्रतिशत भुक्तानी गरेर मोटरसाइकल लिन सकिने व्यवस्था गरिएको छ।
सञ्चालक श्रेष्ठ का अनुसार पोखरा तथा गण्डकी प्रदेशका ग्राहकलाई सिएफ मोटो का मोटरसाइकलसँगै भरपर्दो बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याइएको हो।
सिएफ मोटो नेपालले आगामी दिनमा देशका प्रमुख शहरमा सेल्स सर्भिस र स्पेर पार्टस्को नेटवर्क थप विस्तार गर्दै ग्राहकको पहुँच र सेवा गुणस्तरलाई प्राथमिकता दिने जनाएको छ।
घ
















