पोखरा । पछिल्लो समय ग्राहकको सङ्ख्या घट्दै गएपछि कास्कीमा सञ्चालित लोकदोहोरी साँझको कारोबारमा विगतको तुलनामा ५० प्रतिशतसम्म गिरावट आएको व्यवसायीहरूले बताएका छन्। बुधबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा कास्की लोक दोहोरी व्यावसायिक समितिका अध्यक्ष होमबहादुर गुरुङले व्यवसायीले विभिन्न समस्या झेल्नुपरेको भन्दै कारोबार बढाउन दोहोरी साँझलाई २४ सै घण्टा सञ्चालन गर्न पाउने व्यवस्था आवश्यक रहेको बताए।
उनका अनुसार कास्कीमा हाल करिब २५ वटा दोहोरी साँझ सञ्चालनमा छन्। तीमध्ये १८ वटा समितिमा आबद्ध छन्। पछिल्लो समय दोहोरी व्यवसायमा लगानी गर्नेको संख्या बढे पनि पर्याप्त अध्ययन र बजारको अवस्था नबुझी व्यवसायमा प्रवेश गर्दा कतिपय व्यवसायीलाई टिक्नै समस्या भइरहेको उनले बताए।
‘लहैलहैमा व्यवसाय सुरु गर्ने प्रवृत्तिले पनि समस्या बढाएको छ। व्यवसाय सञ्चालन गर्नुअघि बजार, लगानी, जनशक्ति र व्यवस्थापनलगायत विषयमा पर्याप्त अध्ययन आवश्यक छ,’ अध्यक्ष गुरुङले भने।
उनले दोहोरी व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिइए कारोबारमा सुधार आउने दाबी गरे। व्यवसायी, कलाकार तथा कर्मचारीको हितलाई ध्यानमा राख्दै व्यवसाय प्रवर्द्धन र लोकदोहोरी क्षेत्रको विकासका लागि समितिले निरन्तर पहल गर्ने उनको भनाइ छ।
समितिले नयाँ कलाकार उत्पादन तथा लोकदोहोरीको संरक्षणका लागि विद्यालयस्तरदेखि नै कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। अध्यक्ष गुरुङले नयाँ पुस्तालाई लोकसंगीत र लोकसंस्कृतिसँग जोड्न विद्यालय तहसम्म पुगेर प्रतिभा पहिचान तथा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने बताए।
वार्षिकोत्सवमा समेत दैनिक तीन हजार शुल्क
समितिका उपाध्यक्ष नौजंग गुरुङले दोहोरी व्यवसायीले अनावश्यक तथा अतिरिक्त शुल्कको भारसमेत व्यहोर्नुपरेको गुनासो गरे।
उनका अनुसार आफ्नै कार्यकक्षमा दोहोरी साँझको वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दा समेत दैनिक तीन हजार रुपैयाँका दरले शुल्क तिर्नुपर्ने अवस्था रहेको छ। यस्ता शुल्कले व्यवसायीमाथि थप आर्थिक भार परेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।
उनले अनावश्यक शुल्क तत्काल हटाउन सरकारसँग माग गरे। व्यवसायमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्दै मर्यादित ढङ्गले दोहोरी सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।
लोकदोहोरी नेपाली मौलिक कला तथा संस्कृतिको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण र प्रवर्द्धनमा व्यवसायी, कलाकार र राज्य सबैको भूमिका आवश्यक रहेको उपाध्यक्ष गुरुङले बताए। समितिले व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै कलाकार तथा कर्मचारीको हित संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।
असोज ९ गते प्रथम अधिवेशन
यसैबीच, कास्की लोक दोहोरी व्यावसायिक समितिको प्रथम अधिवेशन असोज ९ गते अमरसिंहस्थित सफल ब्याङ्क्वेटमा हुने भएको छ।
२०८३ साल साउन १५ गते तदर्थ समिति गठन गरी सञ्चालनमा आएको समितिमा हाल १८ वटा दोहोरी साँझ आबद्ध छन्। आबद्ध दोहोरी साँझमार्फत करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेको समितिले जनाएको छ।
प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशासमेत तय गर्नेछ। लोकदोहोरी व्यवसाय तथा कलाकार क्षेत्रका साझा समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्ने समितिको तयारी छ।
समितिका सचिव तेजबहादुर चालिसेले लोकदोहोरी व्यवसायलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउँदै नेपाली लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समितिले प्राथमिकता दिने उल्लेख गरे। प्रथम अधिवेशनमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण दोहोरी व्यवसायी, कलाकार, सञ्चारकर्मी तथा सरोकारवालालाई समितिले आग्रह गरेको छ।
















