पोखरा । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित कलाकार तथा कलाकार परिवारको सहयोगार्थ विभिन्न संघसंस्था तथा व्यक्तिहरूले राहत तथा स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन थालेका छन्।

यसैक्रममा एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रीय समितिद्वारा सञ्चालित राहत सङ्कलन अभियानमा २ लाख १० हजार रुपैयाँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय समितिको राहत कोषमा जम्मा गरिएको  एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाका महासचिव तथा चर्चित लोकदोहोरी गायक सुरेन्द्र गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार समूहका पदाधिकारी, सदस्य तथा शुभेच्छुकबाट संकलित रकम बाढीपीडित कलाकार तथा कलाकार परिवारको राहत र पुनःस्थापनाका लागि प्रदान गरिएको हो।

भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा आसपासका तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाले विपद्बाट प्रभावित समुदायप्रति दुःख व्यक्त गरेको छ। समूहले विपद्का कारण ज्यान गुमाएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

समूहले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, सञ्चारकर्मी, स्थानीय तह, सामाजिक सङ्घसंस्था, स्वयंसेवक तथा सहयोगी महानुभावप्रति आभारसमेत व्यक्त गरेको छ।

एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाले नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। सन् २०२५ मा स्थापना भएको समूहले सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत आफ्नो सक्रियता बढाउँदै आएको महासचिव गुरुङले बताए। ग्रुपले सक्रियता बढाउदै लगेको छ ।

यसैबीच, समूहले बाढीपीडित कलाकार तथा कलाकार परिवारको राहत तथा स्वास्थ्य उपचारमा सहयोग गर्न अपिलसमेत गरेको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, केन्द्रीय समितिको राहत कोषमा रकम जम्मा गरी सहयोग अभियानलाई साथ दिन समूहले आग्रह गरेको हो।

त्यस्तै, लामो समयदेखि सञ्चार तथा कला क्षेत्रमा सक्रिय बागलुङ निवासी तथा हाल काठमाडौंमा रहेकी उमा सञ्चार प्रालिकी प्रमुख आशा गौतमको स्वास्थ्य समस्याका कारण उपचार भइरहेकोमा उनको उपचार सहयोगार्थ पनि एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाको तर्फबाट रु. २१ हजार सहयोग गरिएको समूहले जनाएको छ। सङ्कटको समयमा गरिएको सानो सहयोगले पनि पीडित व्यक्ति तथा परिवारमा आशा, हौसला र जीवनप्रतिको भरोसा जगाउन सक्ने समूहको विश्वास छ।

एभरेष्ट कल्चरल ग्रुप–अमेरिकाका अध्यक्ष किरण गुरुङले राहत अभियानमा आर्थिक सहयोग गरेकोमा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले विपद्को समयमा कलाकार तथा कलाकार परिवारलाई सहयोग गर्न व्यक्ति, सङ्घसंस्था तथा शुभेच्छुकलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0