पोखरा । पोखराको इन्द्रचोकमा नेपाली उत्पादन मात्र बिक्री गर्ने ‘गोठालो मार्ट’ सञ्चालनमा आएको छ। मार्टको पोखरा शाखाको सोमबार गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गरे।
गत असारमा बुटवलबाट सञ्चालनमा आएको गोठालो मार्ट विस्तार गर्ने क्रममा पोखरामा पनि शाखा स्थापना गरिएको हो। मार्टका परिकल्पनाकार डा. निकोलस भुसालले किसानले उत्पादनको उचित बजार नपाउने र उपभोक्ताले नेपाली उत्पादन सहज रूपमा प्रयोग गर्न नपाउने अवस्थालाई ध्यानमा राखेर मार्ट सञ्चालनमा ल्याइएको बताए।
उनले देश वस्तु आयात गरेर मात्र समृद्ध बन्न नसक्ने बताउँदै उत्पादन, उद्योग, उद्यमी र उपभोक्ताबीचको सम्बन्ध आवश्यक रहेको उल्लेख गरे। उत्पादनलाई उद्यमसँग र उद्यमलाई उपभोक्तासँग जोड्ने माध्यमका रूपमा गोठालो मार्टलाई विकास गर्न खोजिएको उनको भनाइ छ।
डा. भुसालका अनुसार मार्टमा नेपालमै उत्पादित लत्ताकपडादेखि खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री उपलब्ध छन्। लामो अध्ययनपछि मार्टको अवधारणा कार्यान्वयनमा ल्याइएको बताउँदै उनले हाल देशका विभिन्न स्थानमा ३० वटा शाखा सञ्चालनमा रहेको जानकारी दिए । आगामी दिनमा थप एक सय शाखा विस्तार गर्ने तथा विदेशमा समेत शाखा सञ्चालन गर्ने योजना रहेको उनले बताए । गोठालो मार्ट व्यापार मात्र नभई देश निर्माणको अभियान भएको डा. भुसालको दाबी छ।
गोठालो मार्ट गण्डकीका संयोजक रुद्रप्रसाद शर्मा तिमिल्सिनाले देशका ७७ वटै जिल्लामा उत्पादित स्थानीय सामग्री संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले मार्ट सञ्चालन गरिएको बताउनुभयो। उनका अनुसार बुटवलबाट सुरु भएको गोठालो मार्टको पोखरा शाखामा आठ जनाको लगानी रहेको छ।
पोखरा शाखामा नेपालमै उत्पादित करिब १ हजार ५ सय प्रकारका सामग्री उपलब्ध रहेको संयोजक तिमिल्सिनाले जानकारी दिए। मार्टमा नेपाली उत्पादनबाहेक अन्य सामग्री बिक्री नगरिने उनको भनाइ छ।
उनले गोठालो मार्टलाई व्यवसायभन्दा पनि सामाजिक सेवाको उद्देश्यसहित अघि बढाइएको बताए । गण्डकी प्रदेशका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिँदै उनले केही समयभित्रै बेनी, कुश्मा र नयाँपुलमा शाखा सञ्चालनमा ल्याइने बताए ।
















