पोखरा । सिटीवान टेलिभिजनले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।
टेलिभिजनले आयोजना गरेको प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ बाट बचत भएको रकम बाढीपीडितको सहयोगका लागि कोषमा जम्मा गरिएको हो। यसपटकको तीज गीत प्रतियोगिता पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई समर्पण गरिएको थियो।
टेलिभिजनले जम्मा गरेको रकमको भौचर मङ्गलबार सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापति, सचिव सुरेश श्रेष्ठ, बोर्ड सदस्य तथा तीज गीत प्रतियोगिता संयोजक सुष्मा थापा पाण्डे, बोर्ड सदस्य कमलबहादुर सुनार, प्रबन्ध निर्देशक अनिशा श्रेष्ठ लगायतले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरे।
भौचर हस्तान्तरण कार्यक्रममा टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिले सूचना प्रवाहमार्फत नागरिकलाई सुसूचित गराउने उद्देश्यले टेलिभिजन सञ्चालन गरिएको बताए। आर्थिक रूपमा नाफा नभए पनि विपद्को समयमा सामाजिक दायित्व निर्वाह गर्नुपर्छ भन्ने उद्देश्यले कठिन परिस्थितिका बीच कार्यक्रम आयोजना गरी रकम बचत गरेर राहत कोषमा जम्मा गरिएको उनले बताए।
उनले आगामी दिनमा पनि सामाजिक कार्य तथा आपत्–विपद्का समयमा सरकार र नागरिकलाई सहयोग गर्न टेलिभिजन तयार रहने प्रतिबद्धता व्यक्त गरे।

रकमको भौचर ग्रहण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद्को समयमा आफ्नो सामाजिक जिम्मेवारी सम्झेर सहयोग गरेकोमा सिटीवान टेलिभिजनप्रति आभार व्यक्त गरे। उनले पोखरामा रहेर टेलिभिजनले निरन्तर सूचना प्रवाह गर्दै आएको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण तथा सचेतनासम्बन्धी सामग्रीलाई अझ प्राथमिकताका साथ प्रसारण गर्न आग्रह गरे।
प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार जिल्ला प्रशासन कार्यालयले हरेक वर्ष विपद् प्रतिकार्य योजना तयार गर्दै सम्भावित विपद्का क्षेत्र तथा जोखिमको नक्सांकन गर्ने गरेको छ। विपद्पूर्वको तयारी, विपद्का समयमा गरिने प्रतिकार्य तथा जोखिम न्यूनीकरणका उपायबारे टेलिभिजनमार्फत निरन्तर जनचेतना फैलाउन उनले आग्रह गरे। भोटेकोशी बाढीपीडितका लागि सिटीवान टेलिभिजनले गरेको सहयोगको समेत उनले प्रशंसा गरे।
सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले जिम्मेवार समाचार सम्प्रेषण गर्नुका साथै विपद् तथा सङ्कटका समयमा समाज र नागरिकसँग उभिनु सञ्चारमाध्यमको सामाजिक जिम्मेवारी भएको बताइन्। भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकाले दुःखद परिस्थितिमा नागरिकलाई साथ दिन टेलिभिजनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको उनले बताइन्।
उक्त सहयोगले विपद्मा परेका नागरिकको पुनःस्थापना तथा राहतमा केही योगदान पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताइन्। उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।
भाद्र २३ र २४ गते आयोजित प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता–२०८३ को उपाधि नेत्रहीन ऊर्जाशील दिदीबहिनी समूहले जितेको थियो। स्टार नेपाल मिडिया हब प्रालिद्वारा सञ्चालित सिटीवान टेलिभिजनले विगतदेखि नै विभिन्न सामाजिक तथा जनचेतनामूलक गतिविधि गर्दै आएको जनाएको छ।
















