पोखरा । पोखरा महानगरपालिका–५ स्थित हिलसाइड इङ्गलिस स्कुलले भोटेकोशी बाढी पीडितको सहयोगार्थ ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । विद्यालयले उक्त रकम एन प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी एन प्याब्सन कास्कीलाई हस्तान्तरण गरेको हो ।
सोमबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्राचार्य डिल्लीराम भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बराललगायतले एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्की अध्यक्ष मनकाजी गुरुङ, उपाध्यक्ष राजु केसी र कोषाध्यक्ष राजु कायस्थलाई चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले विपद्का बेला विद्यालय, शिक्षक तथा विद्यार्थीले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

विद्यालयका प्राचार्य डिल्लीराम भट्टराईले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिमा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए । विद्यालय व्यवस्थापन, शिक्षक तथा विद्यार्थीबीच छलफल गरी सहयोग रकम सङ्कलन गरिएको प्राचार्य भट्टराईले जानकारी दिए ।
शिक्षक, कर्मचारी र विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोग गरेको उनले बताए । विशेषगरी बाढी प्रभावित बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरिएको उनको भनाइ छ । सहयोग सङ्कलनमा विद्यालयको जुनियर रेडक्रस सर्कलको पनि महत्वपूर्ण भूमिका रहेको प्राचार्य भट्टराईले खुलाए।

प्रि–नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने हिलसाइड इंङ्गलिस स्कुलमा हाल करिब ५ सय ५० विद्यार्थी अध्ययनरत छन् । विपद्का बेला विद्यार्थी स्वयंले सहयोग सङ्कलन गरी सामाजिक कार्यमा सहभागी हुँदा उनीहरूमा समाजप्रतिको उत्तरदायित्वबोध विकास हुने विश्वास विद्यालयले लिएको छ । कार्यक्रमको सञ्चालन श्यामबहादुर कुँवरले गरेका थिए ।
















