पोखरा । पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, गण्डकी प्रदेश कार्यालयमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएपछि दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको भिड बढ्न थालेको छ। नेपाल सरकार तथा केन्द्रीय कार्यालयको निर्देशनअनुसार गत असोज १ गतेदेखि सञ्चालनमा आएको सहुलियत पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ। पसलमा दैनिक उपभोग्य वस्तुका ११ वटा आइटम बिक्रीका लागि राखिएका छन्।

कार्यालय प्रमुख सागर शेरचनका अनुसार बजारमा चिनीको मूल्य महँगो भएका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत पसलमा प्रतिकेजी १ सय रुपैयाँमा चिनी बिक्री भइरहेको छ। एक व्यक्तिले बढीमा ६ केजीसम्म चिनी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइएको छ। प्रतिकेजी २४ रुपैयाँका दरले एक व्यक्तिलाई बढीमा ६ केजीसम्म नुन उपलब्ध गराइने शेरचनले बताए। सहुलियत पसलमा विभिन्न प्रकारका चामलसमेत बिक्रीका लागि राखिएको छ। जिरा मसिनो चामल २५ केजीको बोरालाई २ हजार ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

प्रमुख शेरचनका अनुसार त्यसैगरी लङ ग्रेन बेहुली बासमती चामल २० केजीको बोराको मूल्य ३ हजार रुपैयाँ तथा लङ ग्रेन नातिनातिनी बासमती चामल २० केजीको बोराको मूल्य ३ हजार ५ सय २५ रुपैयाँ तोकिएको छ।

सस्तो मूल्यको चामलका रूपमा एसटिसी सोना चामल २५ केजीको बोरालाई १ हजार ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको कार्यालय प्रमुख शेरचनले जानकारी दिए। शान्ति तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपैयाँमा उपलब्ध गराइएको छ। यसका अतिरिक्त पिठो र मैदासमेत सहुलियत पसलमा बिक्रीका लागि राखिएको छ।


चाडपर्वलाई लक्षित गरी दुई महिनासम्म सञ्चालन हुने भएकाले सहुलियत पसलबाट उपभोक्ताले अधिकतम लाभ लिन सक्ने शेरचनको भनाइ छ। उनका अनुसार पसल हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0