पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौं विश्वकर्मा भलिबल कप–२०८३ शनिबार पोखरा रंगशालामा सम्पन्न भएको छ। असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको उपाधि दाजुभाइ क्लब गल्याङले जितेको छ।
फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै दाजुभाइ क्लब गल्याङ च्याम्पियन बनेको हो। हरिनास गाउँपालिका दोस्रो र शुक्लागण्डकी–१२ तेस्रो भएका छन्।
उपाधि विजेता दाजुभाइ क्लब गल्याङले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हरिनास गाउँपालिकाले ५० हजार रुपैयाँ तथा तेस्रो भएको शुक्लागण्डकी–१२ ले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ हरिनास गाउँपालिका–६ का सुनील मानन्धर बेस्ट स्पाइकर, हरिनास गाउँपालिकाका सञ्जित मानन्धर बेस्ट ब्लकर, दाजुभाइ क्लब गल्याङका सुशील विश्वकर्मा बेस्ट डिफेन्डर र शुक्लागण्डकी–१२ का विशाल ठाकुरी बेस्ट सर्भर घोषित भएका छन्।
त्यस्तै दाजुभाइ क्लब गल्याङका श्याम विश्वकर्मा बेस्ट कोच तथा सोही क्लबका उमेश सेन्चुरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। व्यक्तिगत विधातर्फ उत्कृष्ट घोषित खेलाडी तथा प्रशिक्षकलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
‘श्रम र सीपबाट सिर्जित पहिचान हो विश्वकर्मा समाज’
प्रतियोगिताको समापन समारोहमा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले विश्वकर्मा समाज एउटा समुदायको नाममा मात्र सीमित नभई श्रम र सीपबाट सिर्जित पहिचान भएको बताइन् । समाज निर्माणमा महत्वपूर्ण योगदान दिने सीपयुक्त हातहरूको सम्मान गर्नु श्रम र सीपकै सम्मान भएको उनको भनाइ थियो।
गौतमले भलिबल प्रतियोगिता जित र हारको प्रतिस्पर्धामा मात्र सीमित नरहेको बताउँदै यसले युवालाई जोड्ने, प्रतिभा उजागर गर्ने तथा अनुशासन र सहकार्य सिकाउने अवसर प्रदान गर्ने उल्लेख गरिन्।
‘खेलमा एउटा टोलीले जित्छ र अर्कोले हार्छ। तर वास्तवमा मैदानमा सहभागी हुने सबैले केही न केही जितेर फर्कन्छन्। उनीहरूले अनुभव, मित्रता, आत्मविश्वास, माया र नयाँ ऊर्जा लिएर फर्कन्छन्,’ उनले भनिन् ।
पोखरा उद्योग वाणिज्य संघ निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था भए पनि व्यवसायी र उद्योगीका विषयमा मात्र सीमित नभई समाज, युवा, संस्कृति, पर्यटन, रोजगारी तथा समग्र पोखराको समृद्धिलाई समेत आफ्नो जिम्मेवारीका रूपमा लिँदै आएको गौतमले बताइन्। ‘समुदाय बलियो भयो भने समाज बलियो हुन्छ र समाज बलियो भयो भने समग्र अर्थतन्त्र पनि बलियो हुन्छ,’ उनले भनिन्।
विश्वकर्मा समाजले प्रतियोगितालाई निरन्तरता दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै गौतमले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित र व्यापक बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न शुभकामना दिइन्।
आगामी दिनमा प्रतियोगिता थप व्यवस्थित बनाउने प्रतिबद्धता
प्रतियोगिता आयोजक समितिका अध्यक्ष बेलबहादुर विश्वकर्माले ९औँ संस्करणको प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण भए पनि समाजका सबै तहको निरन्तर प्रयासबाट प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सफल भएको बताए।
युवा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई थप व्यवस्थित र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने आयोजक, खेलाडी, प्रायोजक, दाता, संघ–संस्था तथा सम्पूर्ण सहयोगीप्रति उनले आभार व्यक्त गरे ।
प्रतियोगिताका खेलकुद संयोजक पीताम्बर सुनारले प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा टोली, प्रायोजक, दाता, संघ–संस्था र प्रतियोगिता सफल बनाउन भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि युवा तथा उदीयमान प्रतिभावान खेलाडीको पहिचान र विकासका लागि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने बताए।
कार्यक्रमको सञ्चालन विश्वकर्मा समाज नेपालका सचिव तथा प्रवक्ता शरणसिंह विश्वकर्माले गरेका थिए ।
विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीले आयोजना गर्दै आएको प्रतियोगिताले समुदायका युवालाई खेलकुदसँग जोड्नुका साथै आपसी भाइचारा, सहकार्य, अनुशासन र सामाजिक एकतालाई बलियो बनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत विश्वकर्मा समुदायको कला, संस्कृति, सीप र पहिचानको संरक्षण तथा नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने अभियानलाई समेत निरन्तरता दिइँदै आएको आयोजकको भनाइ छ।















