पोखरा । कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत सञ्चालित नयाँलिपि न्यूज डटकमको आयोजनामा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ हुने भएको छ । असोज २ र ३ गते पोखरामा आयोजना हुने प्रतियोगिताबारे जानकारी दिन आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुरज श्रेष्ठले प्रतियोगिताबाट प्राप्त मुनाफा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगमा खर्च गरिने जानकारी दिए । क्रियाशील पत्रकारको हितलाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गर्ने तयारी भए पनि पछिल्लो परिस्थितिका कारण उद्देश्य परिवर्तन गरी बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतियोगितामा सहभागी हुने टोलीका लागि टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र मेडल पाउनेछ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै प्रदेशबाहिरका पत्रकार खेलाडीसमेत सहभागी हुनेछन् ।

प्रेस मिटमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था तथा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

पत्रकार सम्मेलनका सहजकर्ता दीपक के श्रेष्ठका अनुसार सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । गण्डकी प्रदेशबाहिरका विभिन्न जिल्लाका पत्रकारले समेत प्रतियोगितामा सहभागी हुन इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराएर प्रतियोगितामा सहभागी गराउने व्यवस्था गरिएको श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई सहज बनाउन आयोजकले विशेष व्यवस्थापन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा सहभागी सबै खेलाडीको खेल अवधिभर बीमासमेत गरिने श्रेष्ठले बताए । उनले सहभागी टोलीलाई बीमा प्रक्रिया पूरा गर्न आवश्यक खेलाडी विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गरेका छन् ।

जिल्लाबाट सहभागी हुने टोलीलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि खेल संघहरूसँग सहजीकरण र सहयोगका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत पत्राचारसमेत गरिएको आयोजकले जनाएको छ ।

पत्रकारितामा सक्रिय भए पनि परिचयपत्र नभएका खेलाडीले सम्बन्धित नेपाल खेलकुद पत्रकार मञ्च वा नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस ल्याउनुपर्नेछ । खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागितामाथि आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ ।प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0