पोखरा । गण्डकी प्रदेशमा क्रियाशील गैरसरकारी संघसंस्थाले विपद् प्रभावितको राहत, उद्धार तथा पुनर्निर्माणका लागि रु १ करोड २ लाखभन्दा बढीको नगद तथा सामग्री सहयोग गरेका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले गरेको आह्वानपछि गैरसरकारी संस्थाबाट उक्त सहयोग जुटेको हो।

मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सचिव डा शेषनारायण पौडेलले गैरसरकारी संस्थाबाट प्राप्त सहयोगको विवरण सार्वजनिक गर्दै सहयोग अभियान निरन्तर जारी रहेको बताए। उनका अनुसार गण्डकी प्रदेशमा क्रियाशील संघसंस्थाले नगद तथा सामग्रीमार्फत प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन्। उनले प्रदेशमा क्रियाशील संघसंस्थाले विपद् राहत तथा उद्धारमा गरेको सहयोगको विवरण हरेक दिन अद्यावधिक गरी सार्वजनिक गरिने जानकारी दिए।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस २०८३ र बाल दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरेको हो। आगामी भदौ २० गते मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस र भदौ २९ गते बाल दिवस परेको छ। यस वर्ष मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवसको नारा ‘प्रविधिको सही प्रयोग र सजगता स् मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ रहेको छ।

मन्त्रालयका सचिव पौडेलले दुईवटा कार्यक्रमलाई रचनात्मक ढंगले संयोजन गरी विपद् राहतमा समेत सहयोग जुटाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताए। विपद्का समयमा विशेषगरी महिला तथा बालबालिकामाथि पर्न सक्ने समस्या र उनीहरूको संरक्षणका उपायबारे प्रदेश प्रहरी कार्यालय गण्डकीबाट प्रस्तुति गरिएको उनले जानकारी दिए।

गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहारीका अनुसार हालसम्म करिब १५ लाख नगद संकलन भएको छ भने करिब ८७ लाख बराबरको राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। उनले सहयोग अभियानलाई निरन्तरता दिइने बताए।

कार्यक्रममा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी निरीक्षक गोविन्द सुवेदी र मन्त्रालयकी महिला विकास अधिकृत देवी शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। उनीहरुले विपद्मा महिला र बालबालिका संरक्षण र सरोकारवालाको भूमिका तथा सामाजिक विकास मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट र गैरसरकारी संस्थासँगको समन्वयका विषयमा प्रस्तुती राखे । सो प्रस्तुती माथि सहभागी सहित छलफल गरियो ।

कार्यक्रममा बोल्दै कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विपद्बाट सुरक्षित रहन परिवारस्तरमै पूर्वयोजना बनाउन सुझाव दिए। उनले विपद्का बेला सही सूचना मात्रै आदानप्रदान गर्न आग्रह गर्दै गलत सूचनाका कारण समस्या थप जटिल बन्न सक्ने बताए।
सामाजिक विकास महाशाखा प्रमुख दीपेन्द्र परियारले स्वागत गरेको कार्यक्रम महिला विकास अधिकृत विष्णुकुमारी चापागाईंले सञ्चालन गरेकी थिइन्। कार्यक्रम गैरसरकारी संस्था महासंघ नेपाल गण्डकीको समन्वयमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0