पोखरा ।  गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध, सरल, स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान पर्वत र बागलुङमा सम्पन्न भएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत श्रावण २९ गते उद्‌घाटन गरी औपचारिक रूपमा शुभारम्भ गरेको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने कार्यक्रमअनुसार पर्वत र बागलुङमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको हो।

पर्वतको जिल्ला प्रशासन कार्यालयको सभाकक्ष र बागलुङको जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

मन्त्री गुरुङले गण्डकी प्रज्ञा–प्रतिष्ठानले अघि बढाएको भाषिक शुद्धीकरण अभियानलाई प्रदेश सरकारले निरन्तर सहयोग गर्ने बताइन्। राष्ट्रिय एकता, पहिचान र संस्कृतिको संरक्षणमा भाषाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नेपाली भाषासँगै प्रदेशमा प्रचलनमा रहेका स्थानीय भाषाको शुद्धता जोगाउँदै प्रयोग र प्रवर्द्धनमा जोड दिन आग्रह गरिन्।

पर्वतमा आयोजित कार्यक्रममा प्राज्ञ कमलप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए। पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले भाषिक शुद्धीकरणले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने बताए। भाषिक शुद्धता, शिष्टता र मर्यादाले सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै सेवाग्राहीलाई सहजता प्रदान गर्ने उनको भनाइ थियो।

त्यस्तै, बागलुङमा प्राज्ञ गायत्री पराजुलीले स्वागत गरेकी थिइन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकारी सेवाका क्रममा भाषिक त्रुटिका कारण सेवाग्राहीले भोग्नुपरेका असहजताका अनुभव सुनाउँदै भाषामा शुद्धता, स्पष्टता र शिष्टता कायम गर्न सके नागरिकको सेवा प्रवाहप्रति विश्वास र सम्मान अझ बढ्ने बताए। नेपाली भाषालाई विश्वस्तरमा विस्तार गर्नसमेत यस्ता अभियानले सहयोग पुग्ने उनको भनाइ थियो।

दुवै जिल्लाका कार्यक्रममा सरकारी कार्यालय तथा संघ–संस्थाका प्रमुख एवं प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा नेपाली भाषा शिक्षक, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, शिक्षाविद् र भाषा–साहित्य क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज, बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराएका थिए। उनले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अपनाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गरेका थिए।

कार्यक्रमको सभापतित्व गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्राडा कुसुमाकर न्यौपानेले गरेका थिए। उनले प्रतिष्ठानको पहिलो सार्वजनिक कार्यक्रमका रूपमा भाषिक शुद्धीकरण अभियान सञ्चालन गरिएको जानकारी दिँदै भाषा, कला, साहित्य, संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण, अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाइएको बताए।

कुलपति न्यौपानेले प्रतिष्ठानका अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, प्रशासन, शैक्षिक संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेको बताए।

दुवै जिल्लाका कार्यक्रम सम्बन्धित प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गरेको थियो। कार्यक्रमको प्रस्तुति तथा सहजीकरणमा पर्वत साहित्य सङ्गमले सहयोग गरेको थियो।

अभियानले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध, सरल, स्पष्ट र मर्यादित प्रयोगप्रति जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0