पोखरा । मदिरा व्यवसायी समिति, कास्कीको आयोजनामा पोखरामा कर तथा अन्तःशुल्कसम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। व्यवसायलाई पारदर्शी, मर्यादित र कानुनी दायराभित्र सञ्चालन गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिवप्रसाद ढुङ्गानाले व्यवसायीले राज्यको कानुनी परिधिभित्र रहेर कर तथा अन्तःशुल्क चुक्ता गर्नुपर्नेमा जोड दिए। मदिरा व्यवसाय संवेदनशील क्षेत्र भएकाले कानुनी जटिलताबाट बच्न तथा राजश्व संकलनमा राज्यलाई सहयोग गर्न उनले व्यवसायीलाई आग्रह गरे। कर प्रशासन व्यवसायीका समस्या समाधान गर्न सधैं तत्पर रहेको उनको भनाइ थियो।

कार्यक्रमका अध्यक्ष एवं मदिरा व्यवसायी समिति कास्कीका अध्यक्ष कृष्णबहादुर भाटले व्यवसायीहरू राज्यलाई कर तिर्न तयार रहे पनि कर तथा अन्तःशुल्कसम्बन्धी व्यवस्था थप सरल र व्यावहारिक बनाउनुपर्ने माग गरे। उनले मदिरा व्यवसायीको हकहित संरक्षणसँगै संस्थाले सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत निरन्तरता दिँदै आएको बताए।

मदिरा व्यवसायी महासंघ गण्डकीका अध्यक्ष गोविन्द बहादुर केसीले व्यवसायीले भोगिरहेका समस्याबारे धारणा राख्दै अवैध मदिराका कारण व्यवसाय क्षेत्रमा मुख्य समस्या देखिएको बताए।

मदिरा व्यवसायी समितिका पूर्वअध्यक्ष तथा महासंघका सल्लाहकार तारानाथ ढुङ्गानाले मदिरा व्यवसाय क्षेत्रले भोग्दै आएका समसामयिक समस्या, नीतिगत अस्पष्टता तथा कर प्रणालीका व्यावहारिक चुनौतीबारे धारणा राखे। उनले व्यवसायीबीचको एकता कायम गर्दै व्यवसायको शुद्धीकरणमा जोड दिए।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत धर्मेन्द्र शाह र किरण पौडेल तथा कम्प्युटर अधिकृत सुदीप रेग्मीले चालु आर्थिक वर्षको कर नीति तथा मदिरा व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी गराएका थिए।

ऋषि न्यौपानेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा करिब एक सय मदिरा व्यवसायीको सहभागिता थियो। कार्यक्रमको सञ्चालन समितिका महासचिव श्रीराम पोखरेलले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष नेत्र ढुङ्गानाले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा व्यवसायीहरूले कर तथा अन्तःशुल्कका विषयमा राखेका विभिन्न जिज्ञासा र समस्याबारे आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ढुङ्गानासहितका कर्मचारीले सहजीकरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0