पोखरा । नाबालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा तथा दोषीलाई कडा कारबाहीको माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ। महिला हिंसा अन्त्य, महिलाको सुरक्षा सुनिश्चितता र पीडित परिवारलाई न्याय दिलाउन सरकारलाई दबाब दिन प्रदर्शन आयोजना गरिएको हो। पोखराको मानवअधिकार चोक, चिप्लेढुंगामा भेला भएका प्रदर्शनकारीले हातमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर जिल्ला प्रहरी कार्यालय कास्कीसम्म शान्तिपूर्ण प्रदर्शन गरेका थिए। त्यसपछि नयाँबजार हुँदै पृथ्वीचोकमा पुगेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘छोरीहरूलाई बाँच्न देऊ’, ‘बलात्कारीलाई दण्ड देऊ’, ‘महिला हिंसा अन्त्य गर’, ‘महिला सुरक्षा ग्यारेन्टी गर’, ‘न्याय मर्न दिँदैनौँ, हत्यारालाई छोड्दैनौँ’ लगायतका नारा लगाएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा अभियन्ता सरस्वती पुरीले सरकारलाई दबाब र खबरदारी गर्न आफूहरू सडकमा आएको बताइन्। महिलाले सुरक्षित रूपमा हिँडडुल गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो।सरकारलाई आफूहरूको साथ रहेको बताउँदै पुरीले महिलाको सुरक्षाका विषयमा प्रभावकारी काम गर्न सरकारसँग आग्रह गरिन्। उनले महिला सुरक्षालाई राजनीतिक प्रतिबद्धताभन्दा व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।

पुरीले संसद्मा ठूलो संख्यामा महिला सांसदको प्रतिनिधित्व भए पनि गरिमा चौधरीले न्याय पाउनुपर्ने विषयमा पर्याप्त आवाज नउठेको आरोप लगाइन्। उनका अनुसार १ सय १८ जना महिला सांसद निर्वाचित भएर सदनमा पुगे पनि एक–दुई जनाबाहेक अधिकांश महिला सांसदले गरिमाको न्यायका लागि प्रभावकारी रूपमा आवाज उठाउन नसकेको गुनासो छ। उनले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कडा कानुनी कारबाहीको व्यवस्था गर्नुपर्ने मागसमेत गरिन्। संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुनी व्यवस्था ल्याउनुपर्ने उनको माग थियो।
अर्की अभियन्ता लक्ष्मी पौडेलले सहभागीहरूले गरिमा चौधरीको घटनालाई कुनै एक परिवारको मात्र पीडा नभई महिला तथा बालिकाको सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा लिन सरकार र सम्बन्धित निकायलाई आग्रह गरिन् । उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी राज्यले भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

श्रीमती संगठन पोखरा नेपाल, परिवर्तन नेपाल अभियान पोखरा र पोखरेली युवा क्लबको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले शान्तिपूर्ण रूपमा सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए। प्रदर्शनकारीहरूले बालिका तथा महिलामाथि हुने हिंसा रोक्न राज्यका निकाय अझ जिम्मेवार बन्नुपर्ने, अपराधीलाई राजनीतिक वा अन्य कुनै प्रभावबाट उन्मुक्ति दिन नहुने र पीडितले न्याय पाउने सुनिश्चितता गर्नुपर्ने माग राखेका छन्।
गरिमा चौधरीको घटनालाई लिएर पोखरामा भएको प्रदर्शनले महिला तथा बालिकाको सुरक्षा, बलात्कार तथा हिंसाविरुद्धको कानुनी कारबाही र न्याय प्रणालीप्रति राज्यको जवाफदेहिताको प्रश्न पुनः उठाएको छ। सहभागीहरूले शान्तिपूर्ण आन्दोलनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि आफ्नो आवाज निरन्तर उठाइरहने बताएका छन्।
















