पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन महिनामा विभिन्न प्रकृतिका १६८ वटा अपराधका मुद्दा दर्ता भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरणअनुसार १६८ मुद्दामा १८१ जना प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार साउनमा जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १३, आर्थिक अपराधका ५३ र अन्य प्रकृतिका ८२ वटा मुद्दा दर्ता भएका छन्।
फैसला कार्यान्वयनतर्फ प्रहरीले फरार रहेका ६७ जना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५८ पुरुष र ९ महिला छन्। उनीहरूबाट ८ वर्ष ७ महिना ११ दिन कैद तथा ३७ लाख ९६ हजार ५२० रुपैयाँ बिगो रकम असुल भएको प्रहरीले जनाएको छ।
साउनमा सामाजिक हिंसासम्बन्धी १०० वटा ठाडो उजुरी परेको प्रहरीले जनाएको छ। यस्तै घरेलु हिंसातर्फ ३८ वटा उजुरी परेका छन्। सामाजिक हिंसाका घटनामा १०० जना पीडित र १०४ जना पीडक रहेको विवरणमा उल्लेख छ। घरेलु हिंसाका ३८ घटनामध्ये ११ वटा शारीरिक, मानसिक तथा आर्थिक मिलापत्रमार्फत टुंग्याइएको, १० वटा अदालत वा अन्य कार्यालयमा पठाइएको र १७ वटा प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरिक्षक विरेन्द्र कुमार पासवानले जानकारी दिए ।
हराएका महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ साउनमा ६५ वटा निवेदन परेकोमा ५६ जना फेला परेका छन्। त्यसमध्ये २९ महिला, १६ पुरुष, १६ बालबालिका र ४ ज्येष्ठ नागरिक हराएको निवेदन परेको थियो।
कास्की प्रहरीले साउनमा लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ। प्रहरीले ब्रुफिन ४७५ एम्पुल, डाइजापाम ४६९ एम्पुल, फेनारगन ४७६ एम्पुल, ब्राउन सुगर १८९.११८ ग्राम, ट्यापेन्टाडोल १० हजार १६६ ट्याब्लेट, गाँजा १० किलो ४५० ग्राम र ट्रामाडोल ७९० ट्याब्लेट बरामद गरेको छ। लागूऔषधसम्बन्धी ११ वटा मुद्दा दर्ता गरी २० जनालाई पक्राउ गरिएको छ।
प्रहरीले साउनमा अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जनालाई समेत पक्राउ गरेको छ। उनीहरूले पोखराको प्रस्याङमा संस्था स्थापना गरी विभिन्न व्यक्तिलाई एसिया तथा युरोपका देशमा भ्रमण गराउने प्रलोभनमा पारेर कुपनमार्फत रकम उठाएको प्रहरीको दाबी छ। प्रारम्भिक अनुसन्धानअनुसार करिब ३० जनाबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिएको पाइएको छ।
यस्तै ब्राउन सुगर, गाँजा तथा अन्य लागूऔषधसहित विभिन्न स्थानबाट गरी एकै महिनामा ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
कास्की प्रहरीले विभिन्न होटल तथा खाजाघरमा गरिएको अनुसन्धानका क्रममा बालिकालाई प्रलोभनमा पारी जबर्जस्ती काममा लगाउने गतिविधिमा संलग्न रहेको आरोपमा पाँच महिलालाई पक्राउ गरेको जनाएको छ। अनुसन्धानका क्रममा तीन बालिकाको उद्धार गरिएको र घटनामा संलग्न व्यक्तिमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
साउनमा कास्कीमा ८ वटा सवारी दुर्घटना भएको प्रहरी विवरणमा उल्लेख छ। दुर्घटनामा ४ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। दुर्घटनामा १० वटा सवारीसाधन संलग्न रहेका थिए। प्रहरीका अनुसार ६ वटा दुर्घटना तीव्र गतिका कारण, एउटा मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण र एउटा अन्य कारणले भएको थियो। ट्राफिक कारबाहीतर्फ ५ हजार ९४४ वटा कारबाहीबाट ४८ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
प्रहरीले साउनमा समुदाय तथा विद्यालय केन्द्रित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। समुदाय केन्द्रित १७९ वटा कार्यक्रममा ७ हजार १२५ जना सहभागी भएका छन्। यस्तै विद्यालय केन्द्रित १४ वटा कार्यक्रममा ९०९ जना सहभागी भएका छन्।
प्रहरीले साइबर अपराध, लागूऔषध दुर्व्यसन, आत्महत्या रोकथाम, मानव बेचबिखन, लैंगिक हिंसा, सडक सुरक्षा, घरेलु हिंसा, बालविवाह तथा बालबालिकामाथि हुने अपराधलगायत विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले मोटरसाइकल गस्ती, स्वीप अपरेसन तथा ‘अपरेसन ३६५’ लाई निरन्तरता दिएको छ। साउन २२ गते गरिएको स्वीप अपरेसनका क्रममा पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक र लेकसाइड क्षेत्रमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा लागूऔषध सेवन गरी अवाञ्छित गतिविधिमा संलग्न २० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी ‘अपरेसन ३६५’ अन्तर्गत साउन महिनामा ७६ वटा सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
















