पोखरा। पोखरामा मंगलबार ‘मनोरञ्जन क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुभ अवसर ग्राम नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा पोखराका विभिन्न मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकले आफ्नो न्यूनतम अधिकार सुनिश्चित गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की र सरोकारवाला निकायलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् । श्रमिकले न्यूनतम पारिश्रमिक, लिखित श्रम सम्झौता र कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका छन् ।
महिला श्रमिकका तर्फबाट प्रस्तुत ज्ञापनपत्रमा सरकारले तोकेको १९ हजार रुपैयाँ न्यूनतम पारिश्रमिक र अतिरिक्त कामको छुट्टै भुक्तानी पाउनुपर्ने उल्लेख छ । उनीहरुले अनिवार्य लिखित श्रम सम्झौता, स्वास्थ्य तथा दुर्घटना बिमा र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धताको माग गरेका छन् । महिला श्रमिकका लागि कार्यस्थलमा छुट्टै चेन्जिङ रुम र महिनावारीका बेला स्यानिटरी प्याडको व्यवस्था हुनुपर्ने मागलाई उनीहरुले प्राथमिकताका साथ उठाएका छन् । बिना पूर्वसूचना कामबाट निकाल्न नपाइने र रात्रिकालीन कामपछि घर फर्कन सुरक्षित यातायातको प्रबन्ध हुनुपर्ने अडान पनि श्रमिकको छ ।
ज्ञापनपत्र बुझ्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले कानुनी मापदण्ड पालना नगर्ने र श्रमिकको शोषण गर्ने व्यवसायीमाथि कडा कारबाही गर्ने बताए । ‘सरकारले तोकेको न्यूनतम तलब १९ हजार रुपैयाँ पनि नदिई १०–१२ हजारमा काम लगाउनु पूर्ण रुपमा गैरकानुनी र श्रम शोषण हो,’ उनले भने । सहायक प्रमुख जिल्ला अधिकारी बरालले साउन्डप्रुफ कोठा, महिला र पुरुषका लागि छुट्टै शौचालय र चेन्जिङ रुमको व्यवस्था नगर्ने व्यवसायमाथि छिट्टै अनुगमन गरी कारबाही तीव्र पारिने प्रतिबद्धता जनाए ।
श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख चण्डिका ढकालले मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग हुनु गम्भीर विषय भएको र बालश्रम उन्मूलनमा सबै सरोकारवाला उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले कमजोरी कार्यान्वयनको पाटोमा रहेको औंल्याउँदै व्यवसायीले १९ हजार ५ सय ५० रुपैयाँ न्यूनतम पारिश्रमिक दिनैपर्ने बताए । उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएकाले २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न ४३ बुँदे मापदण्ड पालना गर्नुपर्ने र श्रमिकको हित हेर्नुपर्नेमा जोड दिए ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले ज्ञापनपत्र बुझाउने परिपाटीभन्दा माथि उठेर अब ठोस कार्यान्वयनमा जानुपर्ने र स्थानीय वडाले दर्ताकै समयमा आचारसंहितामा कडाइ गर्नुपर्ने सुझाव दिए । उनले आंशिक र मौसमी श्रमिकका लागि पनि सामाजिक सुरक्षाको स्पष्ट नीति चाहिने बताए । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० पोखराका अध्यक्ष शोभा पाण्डेले दक्ष जनशक्तिको अभाव र छोटो समय काम गर्ने श्रमिकको सामाजिक सुरक्षाबारे स्पष्ट नीति आवश्यक रहेको बताइन् । उनले व्यवसायीका लागि होटलहरु ट्रेनिङ सेन्टर जस्ता बनेको र जनशक्ति विदेश पलायन भइरहेकोमा चिन्ता व्यक्त गरिन् ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी सूर्यबहादुर बोगटीले कार्यदेश र निर्देशिका पालना नगर्दा समस्या देखिएको भन्दै उजुरी गर्ने बानी बसाल्न आग्रह गरे । उनले प्रहरीले सादा पोसाकमा निगरानी गरिरहेको र पीडितलाई समाजमा पुनर्स्थापना गर्न सिप विकासमा लगानी गर्नुपर्ने तर्क गरे । ‘समस्या हामीबाटै सिर्जित छ र यसको समाधानको उपाय पनि हामीसँगै छ,’ उनले भने । डिएसपी बोगटीले अपराधको शृङ्खला रोक्न सुरुवातमै हस्तक्षेप गर्नुपर्ने र श्रमिकको उमेर पहिचानमा व्यवसायी सचेत हुनुपर्ने बताए ।
राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका संयोजक बद्रीप्रसाद वाग्लेले बालश्रमको ठोस सूचना पाए तत्काल उद्धार गर्ने र उद्धारको खर्च सरकारले बेहोर्ने जानकारी दिए । उनले पदयात्रा क्षेत्रमा बाल पोर्टरको समस्या हुन सक्ने भन्दै त्यसमा सरोकारवालाले ध्यान दिनुपर्ने बताए । उनले उमेर प्रमाणित नगरी कसैलाई पनि काममा नलगाउन व्यवसायीलाई अनुरोध गरे । गैरसरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष पदम पहाडी र राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका प्रतिनिधि मुकेश घिमिरेले सुरक्षित श्रमस्थल र मर्यादित व्यवसायका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमकी अध्यक्ष सिस्टर एन्थोनिया सोसाईले कसैको आत्मसम्मान र इज्जतमा ठेस पुर्याएर कमाएको नाफाको कुनै अर्थ नहुने बताइन् । उनले नियम पालना नगर्ने व्यवसायीको नवीकरण नै रोक्नुपर्ने र सरकारले यसमा कडाइ गर्नुपर्ने माग गरिन् । ‘मनोरञ्जन क्षेत्रको विकृतिका कारण धेरैको पारिवारिक सम्बन्ध बिग्रेको छ, यसको असर बालबालिकामा परिरहेको छ,’ उनले भनिन् । मनोसामाजिक परामर्शदाता जुनु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सामाजिक कार्यकर्ता दीपा शर्माले संस्थाले गर्दै आएका गतिविधि र श्रमिकको अवस्थाबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा पोखराका विभिन्न दोहोरी साँझ, रेस्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कार्यरत श्रमिक, व्यवसायी र सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।














