पोखरा । पोखरा महानगरपालिका–८ नागढुंगामा रहेको नागमन्दिरमा नागपञ्चमीका अवसरमा सोमबार बिहानैदेखि दिनभर भक्तजनको घुइँचो लागेको छ। नागको पूजा तथा दर्शनका लागि पोखराका विभिन्न क्षेत्रसँगै छिमेकी जिल्लाबाट समेत भक्तजन नागढुंगा पुगेका थिए। स्थानीयका अनुसार नागढुंगामा लामो समयदेखि नागको पूजा हुँदै आए पनि विसं २०६१ सालदेखि समिति गठन गरी व्यवस्थित रूपमा नागपूजा गर्न थालिएको हो।
नागको संरक्षण र पूजालाई व्यवस्थित बनाउन रेलिङ बार लगाएर नागको स्थान संरक्षण गर्दै नियमित पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको नागढुंगा नागमन्दिर संरक्षण समितिकी अध्यक्ष कमला श्रेष्ठले बताइन्।
उनका अनुसार नागपञ्चमीका दिन पुरोहित बोलाएर रुद्री लगाउने तथा विधिपूर्वक बृहत् नागपूजा गर्ने गरिएको छ। व्यवस्थित रूपमा पूजा सञ्चालन हुन थालेपछि नागढुंगाको धार्मिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। नागपञ्चमीका दिन बिहान करिब ५ बजेदेखि नै मन्दिरमा भक्तजन आउन थालेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। दिनभर भक्तजनको आगमन बढ्दै गएको उनले बताइन्।
नागढुंगा नागमन्दिरमा रहेको शेष नाग र काली नागको आफ्नै धार्मिक तथा सांस्कृतिक विशेषता रहेको श्रेष्ठको भनाइ छ। नागपञ्चमीका दिन यहाँ पूजा गरेमा धार्मिक आस्था र विश्वासअनुसार नागदेवताको कृपा प्राप्त हुने विश्वासका कारण पनि भक्तजनको आकर्षण बढ्दै गएको स्थानीय बताउँछन्।
नागपञ्चमीबाहेक महाशिवरात्रिका अवसरमा समेत मन्दिरमा विशेष पूजा हुने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिइन्। नागमन्दिरमा पोखराका अधिकांश क्षेत्रबाट भक्तजन आउने गरेको र पछिल्लो समय छिमेकी जिल्लाबाट समेत पूजा तथा दर्शनका लागि मानिसहरू आउन थालेको बताइएको छ । नागढुंगाको धार्मिक पहिचानलाई व्यापक बनाउन स्थानीयवासी, विभिन्न संघसंस्था तथा व्यक्तिहरूको सक्रियता बढ्दै गएको उनको भनाइ छ।
नागढुंगा नागमन्दिरको प्रचार–प्रसार तथा धार्मिक महत्व उजागर गर्न कलाकार, पत्रकार सहित नागढुंगा आमा समूह लगायतले सक्रिय भूमिका निर्वाह गर्दै आएको अध्यक्ष श्रेष्ठले बताइन्।
स्थानीयस्तरमा मन्दिरको संरक्षण, पूजा व्यवस्थापन र प्रचार–प्रसारका गतिविधि बढ्दै जाँदा नागढुंगाको धार्मिक महत्व थप स्थापित हुँदै गएको उनले खुलाइन्। नागपूजाको धार्मिक महत्वलाई मध्यनजर गर्दै मन्दिरको संरक्षण तथा निर्माणका काममा पोखरा महानगरपालिका–८ वडा कार्यालयले समेत सहयोग गर्दै आएको श्रेष्ठले उल्लेख गरिन् ।
पोखराको मुख्य पर्यटकीय क्षेत्रभन्दा केही फरक स्वरूपमा रहेको नागढुंगा नागमन्दिरलाई धार्मिक तथा सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको भनाइ छ।
मन्दिरको व्यवस्थित संरक्षण, पूर्वाधार विकास, प्रचार–प्रसार तथा नियमित धार्मिक कार्यक्रमलाई निरन्तरता दिन सके नागढुंगा क्षेत्रको छुट्टै पहिचान बनाउन सकिने विश्वास गरिएको छ। स्थानीयको पहलमा वर्षौंदेखि संरक्षण हुँदै आएको नागमन्दिरलाई थप व्यवस्थित गर्दै नयाँ पुस्तासम्म यसको धार्मिक तथा सांस्कृतिक महत्व पुर्याउनुपर्ने आवश्यकता समेत देखिएको छ। नागपञ्चमीका दिन मन्दिरमा देखिएको भक्तजनको उपस्थितिले नागढुंगा नागमन्दिरप्रतिको आस्था र आकर्षण बढ्दै गएको संकेत गरेको छ।















