पोखरा । नेपाली महिला खेलाडी सुस्मिता थापामगरले प्रोफेसनल मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा शानदार जितसहित डेब्यु गरेकी छन् । आफ्नो पहिलो प्रोफेसनल एमएमए फाइटमै अनुभवी भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै सुस्मिताले नेपाली खेलकुदमा नयाँ उपलब्धि थपेकी हुन् ।

मुवाथाइ तथा किक बक्सिङ्गमा यसअघि नै पटक–पटक च्याम्पियन बनिसकेकी सुस्मिताले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्दै आएकी छन् । यही अनुभवलाई एमएमएमा समेत रूपान्तरण गर्दै उनले पहिलो प्रोफेसनल फाइटमै प्रभावशाली प्रदर्शन गरेकी हुन् ।

एमएमए डेब्युका लागि सुस्मिता आफ्ना प्रशिक्षक तथा व्यवस्थापक खगेन्द्र क्षेत्रीसँग भारत पुगेकी थिइन्। उनले फाइटअघि करिब दुई सातासम्म विशेष प्रशिक्षण लिएर प्रतियोगिताका लागि तयारी गरेकी थिइन् ।

एमएमएमा सफल सुरुवात गरेसँगै सुस्मिता अब पुनः मुवाथाइ तर्फ फर्किएकी छन्। आगामी ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितालाई लक्षित गर्दै उनले प्रशिक्षण शिविरसमेत सुरु गरिसकेकी छन् ।

प्रशिक्षक तथा व्यवस्थापक खगेन्द्र क्षेत्रीका अनुसार सुस्मिताको आगामी ठूलो अन्तर्राष्ट्रिय मुवाथाइ फाइटका लागि तयारी सुरु भइसकेको छ। उक्त फाइटको मिति, स्थान र प्रतिद्वन्द्वीबारे औपचारिक घोषणा छिट्टै गरिनेछ ।

आफ्नै लगानीमा अन्तर्राष्ट्रिय यात्रा

सुस्मिताको खेल यात्रा अर्को महत्वपूर्ण पक्ष पनि छ। उनको टोलीले हालसम्म बाह्य सहयोग तथा प्रायोजनबिना आफ्नै लगानीमा प्रशिक्षण, प्रतियोगिता र अन्तर्राष्ट्रिय यात्रालाई निरन्तरता दिँदै आएको छ ।

लगातार अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै आएकी सुस्मिताका लागि आगामी अभियान थप महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । उनको टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सहयोग तथा प्रायोजनको आवश्यकता रहेको जनाएको छ ।

प्रोफेसनल एमएमएमा विजयी सुरुवात गरेकी सुस्मिता अब मुवाथाइको अर्को ठूलो अन्तर्राष्ट्रिय फाइटको तयारीमा केन्द्रित भएकी छन् । उनको आगामी अन्तर्राष्ट्रिय मुवाथाइ फाइटको घोषणा छिट्टै हुने बताइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0