पोखरा । लोक कवि अली मियाँको २०औँ स्मृति दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा  प्रा.डा. कुशुमाकर न्यौपाने र सरस्वती लालचन प्रतीक्षाले आ–आफ्ना संस्थालाई प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। दुवै कुलपतिले प्रज्ञा प्रतिष्ठानहरूबीच सहकार्य गर्दै भाषा, साहित्य, संस्कृति र सिर्जनाको प्रवर्द्धनमा नयाँ ढंगले अघि बढ्ने अठोट व्यक्त गरेका हुन्।

पोखरा–११ फूलबारीस्थित भानुपार्कमा अली मियाँ लोक वाङ्मय प्रतिष्ठानको आयोजना तथा भानु वाङ्मय प्रतिष्ठान, भानु मार्ग ‘क’ आमा समूह र भानु मार्ग टोल विकास संस्था ‘क’को सहकार्यमा आयोजित फूलरोपण तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुशुमाकर न्यौपानेले आफ्नो चारवर्षे कार्यकाललाई सम्झनलायक बनाउने उद्देश्यका साथ काम सुरु गरेको बताए।

उनले नेपाली भाषा र साहित्यमा पछिल्लो समय भाषिक शुद्धताको समस्या बढ्दै गएको उल्लेख गर्दै प्रतिष्ठानको पहिलो प्राथमिकता नै भाषिक शुद्धता सम्बन्धी अभियान हुने जानकारी दिए। त्यसका लागि पोखराबाट भाषिक शुद्धतासम्बन्धी गोष्ठीको सुरुवात गरिने र त्यसलाई गण्डकी प्रदेशका ११ वटै जिल्लामा विस्तार गरिने योजना रहेको बताए।

उनका अनुसार नेपाली साहित्यका कतिपय उत्कृष्ट कृतिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने क्रममा भाषागत कमजोरीले समस्या सिर्जना गरेको अनुभव रहेको छ। त्यसैले भाषा परिष्कार, लेखनको गुणस्तर सुधार र त्रुटि न्यूनीकरणका उपायबारे लेखक तथा स्रष्टालाई अभिमुखीकरण गरिने उनले स्पष्ट पारे।

कुलपति न्यौपानेले अब आफूहरू व्यक्तिगत रूपमा नभई संस्थाको प्रतिनिधिका रूपमा जिम्मेवार रहेको उल्लेख गर्दै हरेक गतिविधि जनभावनाप्रति उत्तरदायी हुनुपर्ने बताए। “हामीले बोल्ने, हिँड्ने र गर्ने काम नै संस्थाको परिचय बन्ने भएकाले पहिले आफै उदाहरणीय बन्नुपर्छ,” उनले भने।

उनले गण्डकी प्रज्ञा प्रतिष्ठानले आगामी दिनमा पोखरा प्रज्ञा प्रतिष्ठानसँग समेत सहकार्य गरेर साहित्य, भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका साझा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै कार्यक्रममा पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गर्दै पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति सरस्वती लालचन प्रतीक्षाले लामो समयपछि प्रतिष्ठानले नेतृत्व पाएकाले अहिले सबैको ध्यान संस्थाले के गर्छ भन्नेमा केन्द्रित रहेको बताइन्।

उनले प्रतिष्ठान गठन गर्दा नागरिकले राखेको विश्वास र अपेक्षालाई व्यवहारमा प्रमाणित गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। आगामी चार वर्षपछि “नेतृत्व सही व्यक्तिलाई दिइएछ” भन्ने अनुभूति दिलाउने गरी परिणाममुखी काम गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ थियो।

कुलपति प्रतीक्षाले सक्षम र प्रतिबद्ध टोली पाएकाले योजनाअनुसार काम गर्न सहज हुने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगमा पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमुना प्रतिष्ठानका रूपमा विकास गर्ने योजना रहेको सुनाइन्।

उनले गण्डकी प्रज्ञा प्रतिष्ठानसहित सबै साहित्यिक, सांस्कृतिक तथा प्राज्ञिक संस्थासँग सहकार्य गर्दै साझा उद्देश्यका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबै पक्षबीच हातेमालो आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा पोखरा महानगरपालिका–११ का वडा सदस्य रन सुवा गुरुङले यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानका अध्यक्ष हाजी हनिफ मियाँले लोक कवि अली मियाँको व्यक्तित्व र योगदान स्मरण गर्दै उनी निडर र स्पष्ट वक्ता स्रष्टा भएको बताए। तत्कालीन शासकलाई समेत आफ्ना साहित्यिक सिर्जनामार्फत सचेत गराउने साहस अली मियाँमा रहेको उनले उल्लेख गरे।

कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले अली मियाँसँगका आफ्ना अनुभव सुनाएका थिए। कार्यक्रममा तनहुँका स्रष्टा आकाश अधिकारीका निबन्ध र नाटक गरी दुई कृतिको लोकार्पण कुलपति कुशुमाकर न्यौपानेले गरेका थिए।

लोक गायिका तथा साहित्यकार अम्बिका भण्डारीले अली मियाँका चर्चित लोकगीत प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति, पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरिएको थियो। सहभागीहरूले भानुपार्क परिसरमा फूलरोपण गरी लोक कवि अली मियाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

वि.सं. १९७५ फागुन १५ गते पोखरा–१३ मियाँपाटनमा जन्मिएका लोक कवि अली मियाँले सरल भाषामा गहिरो सामाजिक चेतना बोकेका लोकगीत र साहित्य सिर्जना गर्दै नेपाली गाउँबस्तीको जनजीवनलाई आफ्ना रचनामा जीवन्त बनाएका थिए। उनको २०६३ साउन १८ गते निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0