पोखरा ।  ‘स्ट्रेन्थ एण्ड कण्डिशनिङ वर्कसप–२०२६’ पोखरा रङ्गशालास्थित भारत्तोलन खेल प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको छ।  नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स, नेपालको आयोजनामा सबै खेलका लागि लक्षित यो प्रशिक्षण साउन २० गतेसम्म सञ्चालन हुनेछ ।  तीनदिने कार्यशालामा १६ विभिन्न खेलका ५३ जना प्रशिक्षक तथा खेलकर्मीको सहभागिता रहेको  नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स, नेपालका अध्यक्ष कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार कार्यशालामा अष्ट्रेलियाका अनुभवी प्रशिक्षक म्याग ग्राजगोर्ज मारियन बियालोवासले प्रशिक्षण दिनेछन् । उनी सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न ओलम्पिक खेलकुदमा भारत्तोलन खेलका सहभागी थिए । ६८ वर्षको उमेरमा पनि सक्रिय रूपमा प्रशिक्षण दिइरहेका उनले  उमेरभन्दा पनि नियमित अभ्यास, सही प्रविधि र अनुशासनले खेलाडीलाई सक्षम बनाउने बताए ।

प्रशिक्षणका क्रममा प्रशिक्षक म्याग ग्राजगोर्जले शारीरिक तन्दुरुस्तीको कुनै सीमा नहुने उल्लेख गर्दै जहाँसुकै पनि व्यायाम गर्न सकिने भए पनि बलियो बन्न सही विधि र वैज्ञानिक प्रशिक्षण आवश्यक पर्ने धारणा राखे । उनका अनुसार शक्ति आर्जन गर्न प्रशिक्षणसम्बन्धी ज्ञान हासिल गरी क्रमिक रूपमा तौल वेट प्रयोग गरेर अभ्यास सुरु गर्नुपर्छ । सही उपकरण, उचित प्रविधि र सुरक्षित अभ्यासले मात्रै खेलाडीको सफलता र दीर्घकालीन प्रदर्शन सुनिश्चित हुने उनले स्पष्ट पारे े।

कार्यशालाको उद्‌घाटन सत्र कार्यक्रम नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स, नेपालका अध्यक्ष कृष्ण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्‌घाटन सत्रमा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । उनले यस्ता व्यावहारिक तथा वैज्ञानिक प्रशिक्षण नियमित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिँदै यसले खेलाडी, प्रशिक्षक र खेल क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

गत चैत महिनामा स्थापना भएको नेशनल इन्स्टिच्युट अफ स्पोर्ट्स, नेपालले खेलाडी र प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रियस्तरका प्रशिक्षण तथा कार्यशाला सञ्चालन गर्दै आएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ  । संस्थाले आगामी दिनमा पनि विभिन्न खेलसँग सम्बन्धित वैज्ञानिक प्रशिक्षण र क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको उनले खुलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0