पोखरा । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले पोखरास्थित ताल बाराही माध्यमिक विद्यालयलाई बुक र्याक तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सोमबार आयोजित कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका डिष्ट्रिक्ट गभर्नर प्रजापति बाँस्तोलाको प्रमुख आतिथ्यतामा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर बाँस्तोलाले शिक्षा क्षेत्रमा सहयोगलाई निरन्तरता दिइने बताउँदै आवश्यकता परे आगामी दिनमा विद्यार्थीलाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीलाई लगनशील भएर अध्ययन गरी सफल भविष्य निर्माण गर्न प्रेरित गर्दै लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीले सञ्चालन गरेको सामाजिक सेवामूलक कार्यको प्रशंसा गरे ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष गोविन्दराज पहारीले विद्यालयमा सञ्चालन भइरहेको इसिडी ९भ्ऋम्० कार्यक्रम प्रभावकारी रहेको जानकारी दिए। फिनल्याण्ड सरकारको सहयोगमा सञ्चालित उक्त कार्यक्रम एक वर्षका लागि सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सिर्जना चौतारीले उपलब्ध गराएको बुक र्याक र स्टेशनरी विद्यालयका लागि अत्यन्त उपयोगी भएको बताए।

विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले विद्यालयकी पूर्वविद्यार्थी तथा क्लब अध्यक्ष शान्ति सिग्देलको नेतृत्वमा विद्यालयलाई सहयोग प्राप्त हुनु गौरवको विषय भएको बताए। उनले विद्यालयलाई सहयोगका लागि छनोट गरेकोमा क्लबप्रति आभार व्यक्त गरे।
क्लबकी अध्यक्ष शान्ति सिग्देलले विद्यालयमा अध्ययन गरेका दिनहरूको स्मरण गर्दै आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन्। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति उनले धन्यवाद व्यक्त गरिन्।
कार्यक्रम संयोजक जनकबहादुर कार्कीले विद्यालयलाई सहयोगका लागि छनोट गर्नुको उद्देश्यबारे प्रकाश पार्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने क्लबको अभियानलाई निरन्तरता दिइने बताए।
कार्यक्रममा रिजन चेयरपर्सन दामोदर बरालले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको सञ्चालन क्लबका सचिव कृष्णप्रसाद आचार्यले गरेका थिए।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपालका सचिव जीवन गोर्खाली, सिर्जना चौतारीका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट सल्लाहकार बालकृष्ण बराललगायत लायन्सकर्मी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

















