पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाबिच पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल गनेसले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप सशक्त बनाउन सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण तथा अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको स्तर सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने उल्लेख गरे । नेपालमा पाइने गरेका फुलहरुको प्रचार प्रसार र व्यवसायिक उत्पादन गर्ने गरी तयारी गरिएको बताए ।
साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार आवश्यक रहेको भन्दै यसतर्फ मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिए । नेपालमा पाइने सम्पूर्ण जलचर पाल्ने प्रकारको संरचना पोखरामा निर्माण गर्ने तयारी गरिएको उनले खुलाए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले पोखरामा पर्यटन विकासका विभिन्न योजनाहरू सञ्चालन भइरहेको बताए । विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेको र दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेको उनको भनाइ थियो । नगर प्रमुख आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै पोखरा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।
उनले पोखरा बसपार्क निर्माण, फिर्के खोला कोरिडोर निर्माण, फेवाताल संरक्षण, विकास तथा प्रवर्द्धनका कार्यक्रमलाई महानगरले प्राथमिकताका साथ अघि बढाइरहेको बताए । प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको समुचित विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको उहाँले स्पष्ट पारे ।
पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ लगायतको समेत सहभागिता रहेको छलफलमा पोखराको पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत विचार–विमर्श भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सहजीकरण गरेको कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराको पर्यटन प्रवर्द्धनका लागि महानगरपालिकाले गरिरहेका गतिविधिहरू सहित पर्यटन सम्भावनाका विषयमा प्रस्तुति राखेका थिए।
















