काठमाडौं । काठमाडौं उपत्यकामा महिला तथा वृद्धालाई लक्षित गरी सिरियल रूपमा सुनका सिक्री र बहुमूल्य गरगहना लुटपाट गर्दै आएको कुख्यात ‘कर्मा समूह’का नाइके कर्मा तामाङसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै पछिल्लो समय उपत्यका तथा काभ्रेपलाञ्चोक क्षेत्रमा भएका सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेपछि उनीहरूको खोजी सुरु गरिएको जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानकै क्रममा कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका सिक्री लुटपाटमा प्रत्यक्ष संलग्न चार जनालाई साउन १५ गते बनेपाबाट पक्राउ गरिएको थियो। त्यसपछि थप अनुसन्धानबाट समूहका नाइके कर्मा तामाङको आवतजावत हुने स्थान पहिचान गरी खोजी गर्दा साउन १६ गते राति करिब १०:२५ बजे काठमाडौंको बुढानीलकण्ठ–१३, चुनिखेलस्थित गाम्चा नजिकबाट उनलाई पक्राउ गरिएको हो।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा कर्मा तामाङले आफूसँग रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेको जनाएको छ। चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गर्दा पनि उनी मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। घाइते तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, मोटरसाइकलका पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरीमा प्रयोग हुने ‘टी–लक’ र ‘मास्टर की’ लगायतका सामग्री बरामद गरेको छ।
महिला र वृद्धालाई बनाइन्थ्यो निशाना
प्रहरी अनुसन्धानअनुसार समूहले विशेष गरी महिला र वृद्धाको गतिविधि निगरानी गरी उनीहरूलाई एक्लो अवस्थामा निशाना बनाउने गरेको थियो। प्रतिकार गर्न खोजे घाँटी थिच्ने, लछारपछार गर्ने र कुटपिट गरेर सुनका सिक्री लुट्ने शैली अपनाउने गरेको खुलेको छ।
समूहले मुख्य रूपमा २२० सीसीका पल्सर मोटरसाइकल चोरी गर्ने, चोरीलगत्तै नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने र घटना सम्पन्न भएपछि पुनः स्वरूप तथा नम्बर प्लेट परिवर्तन गरी उपत्यकाबाहिर सस्तो मूल्यमा बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पाँच वटा लुटपाटमा संलग्नता
प्रहरीका अनुसार समूहले काठमाडौंको शान्तिनगर, नरेफाँट, धापासी तथा काभ्रेपलाञ्चोकको बनेपामा भएका कम्तीमा पाँच वटा सिक्री लुटपाटका घटनामा संलग्नता देखिएको छ। अधिकांश घटनामा मोटरसाइकलमा आएका व्यक्तिहरूले बाटो सोध्ने बहाना बनाएर वा पछाडिबाट आक्रमण गरी सुनका सिक्री लुटेर फरार हुने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँच जनाको भूमिका
प्रहरीले पक्राउ परेकामध्ये प्रतिमान गोले समूहका राइडर रहेको जनाएको छ। उनी डाँका–चोरी मुद्दामा सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। पासाङ घिसिङ मोटरसाइकल चोरीमा संलग्न रही समूहलाई चोरीका मोटरसाइकल उपलब्ध गराउने व्यक्ति भएको अनुसन्धानबाट खुलेको छ। आले गुरुङ आवश्यक पर्दा हतियारसहित घटनास्थल वरिपरि सुरक्षा दिने भूमिकामा रहने गरेका थिए भने मनोज तामाङले लुटिएका सुनका गरगहना गालेर स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।
समूहका नाइके कर्मा तामाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी विभिन्न मुद्दामा संलग्न रहेको तथा प्रहरी हिरासतबाट फरार भएपछि पुनः काठमाडौंमा मोटरसाइकल चोरी र सिक्री लुटपाटमा सक्रिय भएको प्रहरीको दाबी छ।
















