पोखरा । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले समाज निर्माण र नेतृत्वमा गुरुहरूको भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्दै पछिल्लो समय गुरुहरूको महत्वलाई बेवास्ता गरिँदा समाज कमजोर बन्दै गएको बताएका छन्।

शनिबार पोखरामा आयोजित ज्योतिष परिषद् नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले वर्तमान समयमा सबै पक्षबीच एकता कायम गरी देशको रक्षा गर्ने आवश्यकता रहेको बताए। उनले राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न सक्ने नेतृत्व चयन हुने विश्वास पनि व्यक्त गरे।

सभामुख धितालले नेपाली समाजको नेतृत्व विगतदेखि नै गुरुहरूले गर्दै आएको उल्लेख गर्दै राजनीतिक दलहरूको उदय धेरै पछिमात्र भएको इतिहासले देखाउने बताए। धर्मशास्त्रहरूमा उल्लेखित गुरुहरूले पूर्वीय दर्शनलाई आधार बनाएर समाजको नेतृत्व गरेको स्मरण गराउँदै उनले अहिले नेतृत्व गर्ने प्रयास त भइरहेको भए पनि पूर्वीय दर्शनलाई पर्याप्त महत्व नदिइएको टिप्पणी गरे।
उनले समाजलाई सही दिशामा अघि बढाउन गुरुहरूको भूमिका पुनः सशक्त हुनुपर्ने धारणा व्यक्त गर्दै ज्ञान, संस्कार र मूल्यमा आधारित नेतृत्वको आवश्यकता औंल्याए।

कार्यक्रममा ज्योतिष परिषद् नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्यले गण्डकी प्रदेशको प्रथम अधिवेशन संगठन विस्तारको औपचारिक कार्यक्रम मात्र नभई नयाँ इतिहासको सुरुआत भएको बताए। उनले यस प्रदेशबाट ज्ञान, अनुशासन, सेवा र अनुसन्धानका अभियानहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

अध्यक्ष आचार्यले पद र सम्मानभन्दा संस्थालाई बलियो बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै युवा पुस्तालाई आकर्षित गर्ने, अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिने र समाजसँग सहकार्य गर्दै संस्थाको गरिमा उकास्नुपर्ने आवश्यकता औंल्याए।

ज्योतिष परिषद् नेपाल गण्डकी प्रदेश समिति संयोजक डा. हरिश्चन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मीनप्रसाद भट्टराई, केन्द्रीय सल्लाहकार डा. चक्रपाणि आचार्य, विश्व हिन्दु महासंघ नेपालका उपाध्यक्ष शंकर खराल, नेपाल संस्कृत विश्वविद्यालयका सहप्राचार्य डा। भोलानाथ रेग्मी, प्रा. डा. जगन्नाथ रेग्मी, मिरा देवी आचार्य, ओमबहादुर गुरुङ, कृष्णप्रसाद गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा परिषद्का आजीवन सदस्यहरूलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0