पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख वक्ता बीके विजय राज सिग्देल रहेका थिए । उनी ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालसँग आबद्ध प्रशिक्षक तथा प्रेरक वक्ता हुन्। उनले विशेषगरी सकारात्मक सोच , मेडिटेसन, मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, व्यक्तित्व विकास, नेतृत्व विकास, जीवन व्यवस्थापन र ‘ह्याप्पिनेस इन्डेक्स’ जस्ता विषयमा प्रशिक्षण तथा प्रेरणामूलक प्रवचन दिँदै आएका छन्। विभिन्न शैक्षिक संस्था, सरकारी तथा निजी निकाय, सञ्चारकर्मी, युवा तथा सामाजिक संघसंस्थामाझ नियमित रूपमा प्रशिक्षण सञ्चालन गर्दै आएका सिग्देलले मानसिक शान्ति, आत्मपरिवर्तन र मूल्यमा आधारित जीवनशैलीलाई आफ्नो प्रशिक्षणको मुख्य विषय बनाउने गरेका छन्।
यसै क्रममा शनिबारको कार्यक्रमा प्रमुख वक्ताको ररुपमा रहेका ब्रह्माकुमार विजय राज सिग्देलले जीवनमा साना–साना सकारात्मक परिवर्तनले ठूलो प्रभाव पार्न सक्ने बताउँदै मानिसलाई पछाडि पार्ने बानी (ह्याबिट) परिवर्तन गर्न आवश्यक रहेको धारणा राखे। उनले आफूलाई कमजोर बनाइरहेका सोच, व्यवहार र बानीलाई पहिचान गरी त्यसलाई ‘ब्रेकडाउन’ गर्न सके मानसिक तथा शारीरिक रूपमा धेरै राहत मिल्ने दाबी गरे।
सिग्देलले आफूले पनि दैनिक जीवनमा अनुशासनलाई व्यवहारमा उतारेको अनुभव सुनाउँदै विगत ६ महिनादेखि भात नखाएको, दूध सेवन नगरेको तथा नुनको प्रयोग पनि निकै कम गरेको बताए। स्वस्थ जीवनशैली अपनाउन खानपान मात्र होइन, सोच र जीवनशैलीमा समेत परिवर्तन आवश्यक हुने उनको भनाइ थियो।
उनले पर्याप्त निद्रालाई स्वास्थ्यको आधार मान्दै अरू धेरै कुरामा सम्झौता गर्न सकिए पनि निन्द्रामा कहिल्यै सम्झौता गर्न नहुने उल्लेख गरे। आधुनिक विकास र व्यस्त जीवनशैलीका कारण मानिसहरू सुत्ने समयमा जागा बस्ने र उठ्ने समयमा सुत्ने प्रवृत्ति बढेको भन्दै त्यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याइरहेको उनको भनाइ थियो।
साथै, उनले हरेक दिन सबैप्रति कृतज्ञता व्यक्त गर्ने र धन्यवाद दिने बानीले शरीरमा सकारात्मक ऊर्जा वृद्धि हुने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने बताए। सकारात्मक सोच, आत्मचिन्तन र अनुशासित जीवनशैलीले व्यक्तिको कार्यक्षमता र जीवनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने उनको विश्वास थियो।
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले पत्रकारहरू निरन्तर मानसिक दबाब, समयको चाप र चुनौतीपूर्ण परिस्थितिमा काम गर्नुपर्ने भएकाले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसुदृढीकरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले कार्यक्रममा अग्रज, समकालीन र नयाँ पुस्ताका सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै खुशी व्यक्त गरिन्। आगामी दिनमा पनि पत्रकारहरूको क्षमता अभिवृद्धि, मानसिक स्वास्थ्य र व्यक्तित्व विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मी सुरेश रानाभाट, जमुना शर्मा वर्षा र रञ्जन अधिकारी क्षेत्रीले कार्यक्रम उपयोगी, ज्ञानवर्द्धक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले कार्यक्रममा सिकेका विषयलाई आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवनमा समेत लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना अनुभव र भोगाइहरू समेत सुनाएका थिए ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका पत्रकार, सञ्चारकर्मी र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रम भव्य रुपमा सम्पन्न भएकोमा ब्रह्माकुमारी पुनमले पनि खुशी व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन सञ्चारिका समुह गण्डकी उपाध्यक्ष कञ्चन थापा कोइरालाले गरेकी थिइन् ।
















