पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पृथ्वीनारायण क्याम्पसको व्यवस्थापन, क्याम्पस प्रशासनको समन्वय तथा वात्स्यायन फाउन्डेसनको आयोजनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक ‘द कोर्ट’ भव्य रूपमा मञ्चन भएको छ। मञ्चन कार्यक्रममा विद्यार्थी, प्राध्यापक तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रस्तुत गरिएको नाटकले पछिल्लो समय नेपालमा युवापुस्तामाझ बढ्दै गएको मानसिक तनाव, एक्लोपन, सामाजिक दबाब, भविष्यप्रतिको अनिश्चितता तथा आत्मसंघर्षजस्ता विषयलाई कलात्मक र यथार्थपरक ढंगले प्रस्तुत गरेको थियो। प्रसिद्ध रङ्गकर्मी अनुप बरालद्वारा लिखित तथा निर्देशित नाटकले मानसिक स्वास्थ्यलाई लुकाउनुपर्ने विषय नभई समयमै बुझ्न, स्वीकार गर्न र सहयोग गर्नुपर्ने मानवीय अवस्थाका रूपमा चित्रण गरेको थियो।

नाटकले ‘डिप्रेसन’ कुनै कमजोरी नभई उपचार र सहानुभूति आवश्यक पर्ने अवस्था भएको सन्देश दिएको थियो। ‘कहिलेकाहीँ औषधिभन्दा साथ र सल्लाहभन्दा उपस्थितिले ठूलो उपचार गर्छ’ भन्ने भावलाई जीवन्त रूपमा प्रस्तुत गर्दै मानसिक रूपमा संघर्ष गरिरहेका व्यक्तिलाई सुन्नु, बुझ्नु र साथ दिनु नै सबैभन्दा ठूलो मानवता भएको सन्देश नाटकमार्फत प्रवाह गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानसिक स्वास्थ्यप्रति नयाँ दृष्टिकोण प्राप्त गर्नुका साथै आत्महेरचाह, आवश्यक पर्दा मनोपरामर्श लिनुपर्ने महत्त्व तथा अरूको भावनाको सम्मान गर्नुपर्ने संस्कारबारे महत्वपूर्ण जानकारी हासिल गरेका थिए। शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने र यस्ता सिर्जनात्मक प्रस्तुति पनि प्रभावकारी सिकाइका माध्यम बन्न सक्ने अनुभूति सहभागीहरूले गरेका थिए।

वात्स्यायन फाउन्डेसन र द एक्टर्स स्टुडियोको संयुक्त प्रस्तुतिमा तयार भएको ‘द कोर्ट’ नाटकले २२ वर्षीय विवेकको जीवनमार्फत युवापुस्ताले भोग्ने पारिवारिक अपेक्षा, करिअर निर्माणको दबाब, विदेश जाने सपना, सामाजिक सञ्जालको प्रभाव तथा मानसिक तनावलाई प्रभावकारी रूपमा उजागर गरेको थियो। नाटकले मानसिक स्वास्थ्यको विषयलाई समाजमा खुला रूपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याउँदै संवेदनशील समाज निर्माणका लागि सबैको साझा जिम्मेवारी रहेको सन्देश दिएको थियो।

नाटकमा नौर क्षेत्रीले विवेकको मुख्य भूमिका निर्वाह गरेका थिए। त्यसैगरी रेवन राई र अदित भुजेल कमेन्टेटर, उज्ज्वलराज ढकाल रेफ्री, कृष्टि गुरुङ मनोपरामर्शदाता, सुमन तिमिल्सिना विवेकका बुबा, विपना विश्वकर्मा विवेककी आमा तथा विक्रम तामाङ विवेकका साथी सागरको भूमिकामा देखिएका थिए।

कोरसमा सर्जम राई, अञ्जली कुँवर, सनम पुन, कृष्टि गुरुङ, उज्ज्वलराज ढकाल, सुमन तिमिल्सिना, विपना विश्वकर्मा र विक्रम तामाङले अभिनयमार्फत नाटकलाई थप प्रभावशाली बनाएका थिए।

स्ववियु अध्यक्ष विष्णु पोखरेलका अनुसार नेपालमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्याको दीर्घकालीन समाधानका लागि विद्यालय, क्याम्पस तथा सार्वजनिक स्थानहरूमा यस्ता चेतनामूलक नाटक, खुला संवाद, मनोपरामर्श सेवा तथा समुदायमा आधारित अभियानलाई निरन्तरता दिन आवश्यक रहेको बताए। समाजले न्यायभन्दा पहिले संवेदना सिके धेरै मौन संघर्ष आशामा रूपान्तरण हुने उनको भनाइ थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने वात्स्यायन फाउन्डेसन, क्याम्पस प्रशासन, प्राध्यापक, विद्यार्थी, स्ववियु परिवार तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तिप्रति स्ववियु अध्यक्ष पोखरेलले आभार व्यक्त गरेका छन् । साथै मानसिक रूपमा स्वस्थ विद्यार्थी नै समृद्ध समाज र सशक्त राष्ट्र निर्माणको आधार हुने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0