पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले खाना पकाउने ग्यासको अभाव हुने भन्ने हल्लाका कारण बजारमा कृत्रिम अभावको अवस्था सिर्जना भएको बताएका छन्। अभावको आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर घरमै भण्डारण गर्न थालेपछि सामान्य अवस्थाको तुलनामा ५० हजारभन्दा बढी सिलिन्डर बजारमा फिर्ता नआएको जानकारी प्राप्त भएको उनले बताएका हुन्।
शुक्रबार जारी गरेको अपिलमार्फत मेयर आचार्यले वास्तविक अभावभन्दा पनि अफवाहका कारण उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरी घरमै राख्ने प्रवृत्ति बढेको उल्लेख गरेका छन्। यसले बजारमा ग्यासको कृत्रिम अभाव भएको जस्तो अवस्था सिर्जना गरेको उनको भनाइ छ।
उनले सम्पूर्ण नगरवासीलाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै आवश्यकताअनुसार मात्र ग्यास खरिद तथा प्रयोग गर्न अनुरोध गरेका छन्। अनावश्यक मौज्दातका कारण अन्य उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न कठिनाइ हुने भएकाले सबैले जिम्मेवार व्यवहार गर्नुपर्ने उनले बताएका छन्।
मेयर आचार्यले ग्यास विक्रेतालाई पनि कृत्रिम अभाव सिर्जना नगर्न तथा उपभोक्ताको समस्याको अनुचित फाइदा नउठाउन आग्रह गरेका छन्। वितरण प्रणालीलाई पारदर्शी र सहज बनाउन सबै व्यवसायीको सहयोग आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले ग्यासको आपूर्ति, बिक्री वितरण तथा मौज्दात अवस्थाको नियमित अनुगमन गरिरहेका छन्। कृत्रिम अभाव सिर्जना गरेको, कालोबजारी गरेको वा अनुचित मौज्दात गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि उनले दिएका छन्।
मेयर आचार्यले अफवाहमा नलाग्न, आवश्यकताअनुसार मात्र ग्यास प्रयोग र खरिद गर्न तथा संकटको बहाना बनाएर अवसरको दुरुपयोग गर्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्न नगरवासीलाई अपिल गरेका छन्। उनका अनुसार उपभोक्ताले संयमता अपनाए बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्नेछ।














