पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदेश संग्रहालयमा पुग्ने आगन्तुकको संख्या घटेको छ। आगन्तुक घटेसँगै संग्रहालयको राजस्व पनि अघिल्लो आर्थिक वर्षको तुलनामा केही कमी आएको छ।
प्रदेश संग्रहालय कार्यालय प्रमुख करुणा राईका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संग्रहालय अवलोकन गर्नेको संख्या १५ हजार ७ सय ८३ छ। यस अवधिमा संग्रहालयले २ लाख ५३ हजार ९ सय ७० रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यसअघि आर्थिक वर्ष २०८१/०८२ मा भने १७ हजार ८ सय ५६ जनाले संग्रहालयको अवलोकन गरेका थिए। उक्त वर्ष संग्रहालयले २ लाख ९७ हजार ८ सय ५ रुपैयाँ राजस्व संकलन गरेको थियो। यसरी एक वर्षको अवधिमा आगन्तुक संख्या करिब २ हजार ७३ जनाले घटेको छ भने राजस्व पनि केही कमी आएको देखिन्छ।
कार्यालय प्रमुख राईका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा देखिएको जेनजी आन्दोलनलगायतका कारण संग्रहालय पुग्ने आगन्तुकको संख्या प्रभावित भएको हो । चालु आर्थिक वर्षमा प्रवेश उल्लेख्य वृद्धि गरिएको उनको भनाइ छ।
प्रमुख राईका अनुसार सर्वसाधारण नेपालीका लागि संग्रहालय प्रवेश शुल्क २५ रुपैयाँबाट बढाएर १०० रुपैयाँ पुर्याइएको छ। त्यसैगरी विद्यार्थीको शुल्क १० रुपैयाँबाट २० रुपैयाँ, सार्क मुलुकका पर्यटकका लागि १०० रुपैयाँ बढाएर १५० रुपैयाँ अन्य देशका पर्यटकको लागि २ सय रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ।
राईले शुल्क वृद्धि भएपछि नियमित रूपमा संग्रहालय अवलोकन गर्न आउने केही आगन्तुकको संख्या घटेको स्वीकार गरिन्। यद्यपि नयाँ आगन्तुक भने आइरहेको उनको भनाइ छ। संग्रहालयले चालु आर्थिक वर्षमा विद्यालय तथा विद्यार्थीलाई लक्षित गरी बजार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको पनि उनले जानकारी दिइन्।
विद्यालयसँग समन्वय गरेर शैक्षिक भ्रमण, प्रचार–प्रसार तथा अन्य प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गरी संग्रहालयमा विद्यार्थी र सर्वसाधारणको आकर्षण बढाउने योजना रहेको उनको भनाइ छ।
















