पोखरा । स्रष्टा टीका प्रसाद भण्डारीका दुई साहित्यिक कृति बुधबार पोखरामा एक समारोहबीच लोकार्पण गरिएको छ। पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेश र धनञ्जय गोत्रीय भण्डारी समाज कासि सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति प्रा. डा. कुशुमाकर न्यौपानेले ‘जिन्दगीका पानाहरू’ निबन्ध सङ्ग्रह र ‘जुनका किरणहरू’ कविता सङ्ग्रह को संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति न्यौपानेले दुवै कृतिमा विविध विषयवस्तुलाई समेटिएका उत्कृष्ट सिर्जनाहरू समावेश भएको बताए। उनका अनुसार कृतिहरूमा सामाजिक विकृति–विसङ्गति, धार्मिक पक्ष, प्राकृतिक सौन्दर्य, समसामयिक विषय, प्रेम, आत्मजीवनका अनुभूति तथा सत्मार्गमा लाग्न प्रेरित गर्ने भावनाहरू प्रभावकारी ढङ्गले प्रस्तुत गरिएका छन्।

गण्डकी प्रदेशले एक कुशल र सम्भावनाशील स्रष्टा पाएको उल्लेख गर्दै उनले टीका प्रसाद भण्डारीलाई आगामी दिनमा पनि निरन्तर साहित्य सिर्जनामा सक्रिय रहन आग्रह गरे। कुलपति न्यौपानेले आफूले गण्डकी प्रज्ञा–प्रतिष्ठानको नेतृत्व सम्हालेपछि चार वर्षे कार्ययोजना बनाएर संस्थागत विकास तथा साहित्य, कला र संस्कृतिको प्रवर्द्धनमा योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी पनि दिए।

कार्यक्रममा आफ्ना धारणा राख्दै स्रष्टा टीका प्रसाद भण्डारीले साहित्यिक यात्राका अनुभव, कृति लेखनको पृष्ठभूमि तथा लोकार्पणको अवसरले आफूलाई थप जिम्मेवार बनाएको बताए। उनले आफ्ना कमजोरीहरू सुधार्दै अझ उत्कृष्ट सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाठकलाई कृतिहरू अध्ययन गरी रचनात्मक सुझाव दिन आग्रह गरे। कृतिमाथि समीक्षा गर्ने समीक्षक तथा उपस्थित सबैप्रति उनले आभार व्यक्त गरे।

पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशका अध्यक्ष गिरीधारी सुवेदीले भण्डारी निरन्तर सक्रिय, सिर्जनशील र ऊर्जावान व्यक्तित्वका रूपमा साहित्य क्षेत्रमा अघि बढिरहेको बताए। उनले भण्डारीले कर्मचारी सेवा परिषद् गण्डकीको साहित्य तथा प्रकाशन समितिको संयोजकका रूपमा तीन कार्यकाल काम गर्दै नियमित रूपमा प्रकाशित हुने ‘गोधुलीको सन्देश’ पत्रिकाको सम्पादन गरेको उल्लेख गरे। त्यसक्रममा धेरै कर्मचारी तथा साहित्यप्रेमीलाई लेखन र सिर्जनामा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

कार्यक्रममा ‘जिन्दगीका पानाहरू’ निबन्ध सङ्ग्रहमाथि शिक्षाप्रेमी होममणि भण्डारीले समीक्षा प्रस्तुत गरेका थिए भने ‘जुनका किरणहरू’ कविता सङ्ग्रहमाथि प्राज्ञ छन्दिका त्रिपाठीले समीक्षात्मक टिप्पणी गरेकी थिइन्। दुवै समीक्षकले कृतिहरूले समाज, जीवन र मानवीय संवेदनालाई प्रभावकारी रूपमा अभिव्यक्त गरेको धारणा राखे।

गण्डकी प्रज्ञा–प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानले सहकार्य गरेको थियो। कार्यक्रममा कवि शिव त्रिपाठीले कविता वाचन गरेका थिए भने धनञ्जय गोत्रीय भण्डारी समाज नेपालका अध्यक्ष सूर्यप्रसाद भण्डारी र निवृत्त शिक्षक मनोरथ आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा विष्णुप्रसाद भण्डारीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन ध्रुवराज पोख्रेलले गरेका थिए। साहित्यप्रेमी, प्राज्ञ, पूर्व कर्मचारी, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रमले स्रष्टा टीका प्रसाद भण्डारीका साहित्यिक योगदानलाई थप उत्साह र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0