पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले प्रदेश सरकारले बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरे पनि त्यसबारे आम नागरिकमा पर्याप्त जानकारी नपुगेको बताएका छन्। नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१औँ रक्तसञ्चार स्थापना दिवसका अवसरमा मंगलबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले प्रदेश सरकारले गरेका महत्वपूर्ण स्वास्थ्य कार्यक्रमको प्रभावकारी प्रचार–प्रसार हुन नसकेको गुनासो गरे। उनले प्रदेश सरकारले ल्याएको निःशुल्क रगत वितरण कार्यक्रमको पहिचान स्थापित गर्न रगत उपलब्ध गराउने प्याकेटमै ‘गण्डकी प्रदेश सरकारको सहयोग’ उल्लेख गर्नुपर्ने बताए ।
उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम समावेश गरेको जानकारी दिए । समुदायस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्वास्थ्य स्वयंसेविकाका लागि भत्ताको व्यवस्था गरिएको उल्लेख गर्दै स्थानीय तहमा अस्पताल भवन भए पनि चिकित्सक र उपकरण अभावका कारण सेवा प्रभावित भएकाले यस वर्षदेखि आवश्यक चिकित्सक र उपकरण व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए।
मन्त्री पाण्डेले स्थानीय स्तरमै नर्सिङ सेवा विस्तार गर्ने तयारी भइरहेको समेत जानकारी दिए। भौतिक पूर्वाधारका योजनाले बढी चर्चा पाए पनि स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले गरेका उपलब्धि ओझेलमा परेको भन्दै अब स्वास्थ्य क्षेत्रका कामलाई पनि प्रभावकारी रूपमा सार्वजनिक गरिने बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेशमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सञ्चालनमा रहेको बताइन् । उनले नेपालका सात प्रदेशमध्ये गण्डकी प्रदेशमै यस्तो व्यवस्था लागू भएको उल्लेख गरिन्। उनले यो कार्यक्रमलाई निरन्तरता दिने विषयमा सुरुआतमा केही अन्योल र बजेट कटौती हुने चर्चा चलेपछि आफूहरूले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रीसँग भेट गरी कार्यक्रमको निरन्तरताबारे छलफल गरेको जानकारी दिइन्।
सभापति भण्डारीले गण्डकी प्रदेश सरकारले रक्तसेवामा पुर्याएको सहयोगको खुलेर प्रशंसा गर्दै अब प्रदेश सरकारको योगदानबारे आम नागरिकलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरिन्। रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन नियमित रक्तदाता र स्वयंसेवकको योगदानको उच्च सम्मान आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति डोलराज पाण्डे, निर्वतमान सभापति डण्डराज शर्मा,पूर्व उपसभापति धर्मराज अधिकारी, पोखरा महानगरपालिका वडा नं. १७ कि वडाध्यक्ष राधिका शाही योगी, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगर कमिटी सभापति योगेन्द्र बहादुर केसी, नेपाली काग्रेसका नेता सोभियत बहादुर अधिकारी, बह्रमकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारकी शोभा दिदी लगायतले नेपाल रेडक्रस सोसाइटी कास्की तथा रक्तसञ्चार स्थापना दिवसको बारेमा बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति रमा न्यौपाने कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मन्त्री सन्तोष अधिकारीले गरेका थिए । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा आयोजित कार्यक्रममा नियमित रक्तदाता, स्वयंसेवक तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।
















