पोखरा । पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वय तथा गण्डकी मेडिकल कलेजको सहयोगमा आयोजित निःशुल्क दन्त शिविर तथा मुखको जाँच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शिविरबाट ३०० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएको स्ववियु अध्यक्ष विष्णु पोखरेलले जानकारी दिएका छन्।
क्याम्पस परिसरमा आयोजित उक्त शिविरमा गण्डकी मेडिकल कलेजका विशेषज्ञ दन्त चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापन टोलीले विद्यार्थी, शिक्षक र कर्मचारीहरूको निःशुल्क दन्त परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्श प्रदान गरेका थिए। कार्यक्रममा सहभागीहरूले मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सचेतना, प्रारम्भिक परीक्षण तथा आवश्यक उपचारका लागि सुझाव प्राप्त गरेका थिए।

स्ववियु अध्यक्ष विष्णु पोखरेलले विद्यार्थीहरूको स्वास्थ्यप्रति देखाएको संवेदनशीलता, सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावका लागि गण्डकी मेडिकल कलेज परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले यस प्रकारका स्वास्थ्यसम्बन्धी कार्यक्रमले विद्यार्थी समुदायमा स्वास्थ्यप्रति जागरण ल्याउनुका साथै समयमै रोग पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनका अनुसार यो शिविर केवल दन्त परीक्षणमा मात्र सीमित नभई स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने प्रेरणादायी अभियानका रूपमा पनि स्थापित भएको छ। शिविरका क्रममा सयौँ विद्यार्थी, शिक्षक तथा कर्मचारीले गुणस्तरीय दन्त परीक्षण र विशेषज्ञ स्वास्थ्य परामर्श प्राप्त गर्ने अवसर पाएका थिए।

स्ववियुले समाजप्रति उत्तरदायी संस्थाका रूपमा गण्डकी मेडिकल कलेजले निर्वाह गरेको मानवीय योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता जनहितकारी तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूमा निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने गण्डकी मेडिकल कलेजका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, व्यवस्थापन टोली तथा सहयोगी सबैप्रति स्ववियुले पुनः हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
















