पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पोखरामा सञ्चालन भइरहेको फिर्केखोला करिडोर निर्माण अभियानलाई प्राकृतिक, वैज्ञानिक र प्रभावकारी ढंगले अघि बढाउन आग्रह गरेको छ। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले फिर्केखोलाको संरक्षण, सौन्दर्यीकरण तथा व्यवस्थित उपयोगका नाममा सञ्चालन भइरहेको अभियानले आफ्नो मूल उद्देश्य पूरा गर्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

महाअभियानका अनुसार पोखरा महानगरपालिका अन्तर्गतका वडा नं. १८, २, ४, ५, ८, ७, ६ र १७ हुँदै बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोला जैविक विविधता तथा पर्यावरणीय सन्तुलनका दृष्टिले अत्यन्त महत्वपूर्ण प्राकृतिक सम्पदा हो। विगत १५ वर्षदेखि नागरिकस्तरबाट फिर्केखोला संरक्षणका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको स्मरण गराउँदै संस्थाले यसअघि फिर्के–बुलौंदी खोला बृहत् सफाइ अभियान, करिडोर, पैदलमार्ग तथा साइकल लेन निर्माणको अवधारणा अघि सारिएको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलले पछिल्ला वर्षहरूमा अनियन्त्रित अतिक्रमण, अव्यवस्थित फोहोर व्यवस्थापन, योजनाविहीन सहरीकरण तथा नियमनको कमजोरीका कारण फिर्केखोलाको प्राकृतिक स्वरूप र अस्तित्वमाथि गम्भीर चुनौती थपिएको उल्लेख गरे।

महाअभियानले नेपाल सरकारको अतिक्रमण हटाउने नीतिअनुसार सञ्चालन भइरहेको डोजर अभियानलाई सकारात्मक रूपमा स्वागत गरे पनि अभियान केही दिनमै चयनात्मक र असमान रूपमा सञ्चालन भएको भन्दै असन्तुष्टि जनाएको छ। खोला क्षेत्रभित्र रहेका कतिपय संरचना हटाइए पनि केही स्थानमा राजनीतिक वा अन्य प्रभावका आधारमा संरचना यथावत् राखिएको दावी गरिएको छ ।

अभियानका संयोजक पौडेलले सबै संरचनामाथि समान मापदण्ड लागू नभए अभियानको उद्देश्य नै कमजोर हुने बताए । उनका अनुसार खोलाको बहाव क्षेत्रमा बनेका संरचना पूर्ण रूपमा हटाउनुपर्नेमा कतिपय स्थानमा आंशिक हटाउने वा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ।

महाअभियानले वडा नं. ४, ५, ७ र ८ का विभिन्न स्थानमा अझै पनि खोलामाथि वा खोलाको किनारमा बनेका पक्की संरचना, घर, सामुदायिक भवन, पर्खाल तथा अन्य निर्माण नहटाइएको भन्दै विस्तृत सूची प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। विज्ञप्तिमा विशेष गरी स्काउट क्याम्पाउण्ड आसपास, रेडियो नेपाल क्षेत्र, पोखरा इन्जिनियरिङ कलेज, लिटल स्टेप स्कुल, बराल समाजघर, राधाकृष्ण मन्दिर आसपास, मगर समाज भवन, सशस्त्र प्रहरी गण क्षेत्र, सांगपाल तामु समाज तथा मालपोत कार्यालय नजिकका केही संरचनाको उदाहरण दिइएको छ।

अभियानले खोला क्षेत्रभित्र रहेका सबै अतिक्रमित संरचना भेदभावरहित ढंगले हटाई करिडोर निर्माणलाई प्रभावकारी बनाउन, प्राकृतिक बहाव संरक्षण गर्न, पैदलमार्ग तथा साइकल लेन निर्माणलाई वैज्ञानिक आधारमा अघि बढाउन र सम्बन्धित निकायबीच समन्वय बढाउन आग्रह गरेको छ।

महाअभियानले फिर्केखोला केवल पूर्वाधार विकासको विषय नभई पोखराको पर्यावरणीय सुरक्षा, जैविक विविधता संरक्षण तथा दीगो शहरी विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकाले अभियानलाई निष्पक्ष, पारदर्शी र दीर्घकालीन दृष्टिकोणका साथ सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

पत्रकार सम्मेलन मार्फत नागरिक समाज कास्कीका प्रवक्ता गोकुलबहादुर कार्की तथा अभियानका संयोजक पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा नागरिक समाज, स्थानीय सरकार, सरोकारवाला निकाय तथा आम नागरिकलाई पनि फिर्केखोलाको संरक्षणमा साझा प्रतिबद्धता जनाउँदै अभियानलाई सफल बनाउन सहयोग गर्न आह्वान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0