पोखरा । पृथ्वीनारायण क्याम्पस, पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापासमक्ष विद्यार्थीका शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधारसँग सम्बन्धित २१ बुँदे मागपत्र पेश गरेको छ।

स्ववियु अध्यक्ष विष्णु पोखरेलले उपकुलपति थापालाई आइतबार मागपत्र हस्तान्तरण गर्दै पृथ्वीनारायण क्याम्पसमा लामो समयदेखि देखिएका शैक्षिक तथा प्रशासनिक समस्याको तत्काल समाधान गर्न आग्रह गरेका हुन्। विद्यार्थीको अध्ययनलाई नियमित, प्रभावकारी र गुणस्तरीय बनाउन यी मागहरू यथाशीघ्र सम्बोधन गर्नुपर्ने स्ववियुको भनाइ छ।

स्ववियुले पृथ्वीनारायण क्याम्पस देशकै ठूलो शैक्षिक केन्द्र भएकाले यहाँ देखिएका समस्याले हजारौं विद्यार्थी प्रत्यक्ष प्रभावित भएको उल्लेख गरेको छ। लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित स्ववियुलाई पूर्ण कार्यकालसम्म निर्वाध रूपमा काम गर्न दिनुपर्ने, विद्यार्थी संगठनमाथि हुने हस्तक्षेप बन्द गर्नुपर्ने तथा विद्यार्थीहरूको संगठन गर्ने अधिकारको सम्मान गर्नुपर्ने माग पनि गरिएको छ।

मागपत्रमा २०८२ मङ्सिर १० गते त्रिभुवन विश्वविद्यालय सिनेटले गरेको निर्णय कार्यान्वयन गर्दै गण्डकी प्रदेशका विद्यार्थीहरूको दीक्षान्त समारोह पोखरामै सञ्चालन गर्नुपर्ने उल्लेख छ। साथै पृथ्वीनारायण क्याम्पसमा तत्काल एमफिल कार्यक्रम सञ्चालन गरी भविष्यमा विद्यावारिधि (पीएचडी) अध्ययनको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

शिक्षा संकायमा सूचना तथा सञ्चार प्रविधि शिक्षामा स्नातक (बिआईसिटिइ) कार्यक्रम थप गर्न, प्रत्येक क्याम्पसमा स्थायी मनोपरामर्शकर्ताको व्यवस्था गर्न तथा बैंकिङ प्रणालीलाई डिजिटल बनाउँदै क्यूआरमार्फत शुल्क तिर्ने र अनलाइनबाट भर्ना तथा परीक्षा फाराम भर्ने व्यवस्था लागू गर्न पनि स्ववियुले माग गरेको छ।

स्ववियुले पुराना तथा समयानुकूल नभएका पाठ्यक्रम संशोधन गर्न, पुस्तकालयलाई पर्याप्त पुस्तकले समृद्ध बनाउन तथा २०७२ सालको भूकम्पपछि जोखिममा रहेको मुख्य प्रशासनिक भवनलाई पुरानै स्वरूप झल्किने गरी प्रविधिमैत्री र अपाङ्गमैत्री लिफ्टसहित पुनर्निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

त्यसैगरी जीर्ण शैक्षिक भवनहरूको पुनर्निर्माण, अत्यधिक परीक्षा सञ्चालनका कारण नियमित पठनपाठनमा असर पर्ने भएकाले छुट्टै परीक्षा भवन निर्माण तथा अन्नपूर्ण रंगशालालाई प्यारापिटसहित आधुनिक खेलमैदानका रूपमा विकास गर्न माग गरिएको छ। निर्माणाधीन कबडहल सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गर्न पनि स्ववियुले आग्रह गरेको छ।

मागपत्रमा प्रत्येक क्याम्पसमा अत्याधुनिक इन्क्युबेसन सेन्टर स्थापना गरी अनुसन्धान, नवप्रवर्तन, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने, निर्माणाधीन छात्रावास सम्पन्न गर्न थप बजेट उपलब्ध गराउनुपर्ने तथा आईटीरएआई पार्क निर्माणका लागि बजेट छुट्याउनुपर्ने उल्लेख छ।

त्यस्तै विज्ञान तथा शिक्षा संकायका प्रयोगशालामा आवश्यक उपकरण उपलब्ध गराउन, आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्न तथा ‘पढ्दै–कमाउँदै’ कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरिएको छ। क्याम्पसभित्र सञ्चालन हुने विभिन्न प्राविधिक तथा सेवा सम्बन्धी कार्यमा सीप हासिल गरेका विद्यार्थीलाई प्राथमिकता दिई रोजगारीको अवसर दिनुपर्ने स्ववियुको भनाइ छ।

विद्यार्थी स्थानान्तरण प्रक्रियालाई सहज बनाउन, मार्कसिट तथा ट्रान्सक्रिप्टमा नाम सच्याउन काठमाडौं धाउनुपर्ने बाध्यता हटाई पृथ्वीनारायण क्याम्पसबाटै निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने, सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमा लागू गर्नुपर्ने तथा भानुपार्क क्षेत्रमा अध्ययन प्रतिक्षालय निर्माण गर्नुपर्ने माग पनि समावेश गरिएको छ।

यसैगरी भर्ना, परीक्षा फाराम, प्राक्टिकल तथा परीक्षा सम्बन्धी सूचना समयमै नपाउँदा विद्यार्थी समस्यामा पर्ने भएकाले सूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने स्ववियुले माग गरेको छ।

मागपत्रको अन्त्यमा विद्यार्थीहरूको स्वच्छ, सुरक्षित र गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न प्रस्तुत गरिएका सबै माग तत्काल सम्बोधन गर्न आग्रह गरिएको छ। बारम्बार ध्यानाकर्षण गराउँदा पनि मागहरूको सुनुवाइ नभए त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले नै वहन गर्नुपर्ने चेतावनी दिँदै विद्यार्थीको हकहित, शैक्षिक सुधार तथा उत्तरदायी शैक्षिक व्यवस्थाको स्थापनाका लागि सशक्त, चरणबद्ध र प्रभावकारी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने स्ववियुले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0