पोखरा । मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणका लागि नागरिकस्तरमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले पोखरा–१७ मा शनिबार सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गुरुङले मानव बेचविखन तथा ओसारपसार जस्ता अपराध नियन्त्रणका लागि सबै नागरिक सचेत हुन आवश्यक रहेको बताए। उनले शिक्षा, गरिबी, बेरोजगारी, आर्थिक प्रलोभन तथा चेतनाको अभावका कारण यस्ता घटना बढ्ने गरेको उल्लेख गर्दै सबै पक्षको साझा पहलबाट यस्ता अपराध न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवान ले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कानुनी व्यवस्था, मुद्दा अनुसन्धान प्रक्रिया तथा सुरक्षित रहने उपायबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले वास्तविक घटनाका उदाहरण प्रस्तुत गर्दै सहभागीलाई आफू मात्र होइन, घरपरिवार र छरछिमेकमा समेत सचेतना फैलाउन आग्रह गरे। यसबाट सम्भावित घटनाहरू हुनुअघि नै रोकथाम गर्न सकिने उनको भनाइ थियो।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली ले पोखरा–१७ क्षेत्रमा मानव बेचविखन सम्बन्धी घटनाप्रति स्थानीयस्तरबाट आएको मागलाई सम्बोधन गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिए। पछिल्लो समय आर्थिक प्रलोभनमा परेर नेपाली चेलीबेटीहरू विभिन्न समस्यामा पर्ने गुनासो बढ्दै गएको भन्दै यस्ता घटना रोक्न समुदायस्तरमा सचेतना अभिवृद्धि आवश्यक रहेको उनले बताए। आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमसँगै अनुगमनका गतिविधिलाई पनि निरन्तरता दिइने उनले जानकारी दिए।

कार्यक्रममा पोखरा–१७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, वरिष्ठ पत्रकार हरि बास्तोला, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगल नेपाली, प्रथम उपाध्यक्ष विष्णु सुवेदी लगायतले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा समुदाय, स्थानीय सरकार, सुरक्षा निकाय र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।

राइट फर चिल्ड्रेन तथा रातो पैह्रा सामुदायिक वन उपभोक्ता समूह को सहकार्यमा आयोजित उक्त कार्यक्रम पोखरा–१७ स्थित हिमालय बोर्डिङ स्कुल मा सम्पन्न भएको थियो। कार्यक्रममा टोल विकास संस्था, आमा समूह, क्लब तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिना ले गरेका थिए। आयोजकले यस्ता कार्यक्रमले मानव बेचविखन तथा ओसारपसार विरुद्ध समुदायस्तरमा सचेतना अभिवृद्धि भई अपराध न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0